शुक्रबार, फाल्गुन २, २०८१

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण २४-२६ वैशाखमा


कान्तिपथ


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका लागि मिति तय भएको छ। परराष्ट्र मन्त्रालयले यही वैशाख २४, २५ र २६ गतेका लागि प्रमको भारत भ्रमण तय गरेको हो। भारतीय प्रधानमन्त्रीको कार्यतालिकालाई ध्यानमा राखेर आपसी सहमतिमा भ्रमणको मिति तय गरिएको परराष्ट्र उच्च स्रोतले जनाएको छ। अब बस्ने मन्त्रिपरिषद् बैठकले भ्रमणको मिति घोषणा गर्नेछ।

मे १० अर्थात् २७ वैशाखमा कर्नाटकामा चुनाव छ भने मे १९ अर्थात् ५ जेठमा भारतीय प्रधानमन्त्री मोदी केही दिनका लागि विदेश भ्रमणमा जाँदै छन्। त्यसैले चुनावअघि नै भ्रमणको तयारी गरिएको हो।

बीचमा कुनै ठूलो बाधा-व्यवधान नआए यो मिति तलमाथि नहुने स्रोत बताउँछ। सोहीअनुरुप परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भ्रमणको तयारी थालिसकेका छन्। हालैमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधानमन्त्री प्रचण्डले ग्रहण गरेका छन्।

तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डको भारत भ्रमण पहिलो विदेश भ्रमण हुनेछ। गएको पुसमा प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने सार्वजनिक रूपमा बताएका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संसद्‍मा अहिले तेस्रो ठूलो दलको नेता हुन् र उनी सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनमा सत्ताको नेतृत्व गरिरहेका छन्। गत मंसिरको चुनावपछि प्रधानमन्त्री बन्न उनलाई नेकपा एमालेले सघाएको थियो तर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दै उनले गठबन्धन फेर्ने बाटो रोजेका थिए।

प्रधानमन्त्रीको भ्रमणका लागि आवश्यक तयारीस्वरुप परराष्ट्रमन्त्री एनपी साउदले विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्रीको भ्रमणकै लागि साउदलाई हतारमा मन्त्री बनाइएको हो। कांग्रेसका साउद ३ वैशाखमा परराष्ट्रमन्त्री बनेका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत