काठमाडौँ । बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको सहयोगमा नेपालले एसिसी प्रिमियर कपमा ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनलदेखि एक कदम टाढा रहेको छ ।
जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो । घाइते हुँदा अकिब इलियास ब्याटिङमा नआउँदै रिटायर्ट आउट भएका थिए । अकिब ओमानका प्रमुख ब्याटर हुन् । उनले तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्दछन् । तर चोटका कारण उनी सुरुवात देखिनै ब्याटिङमा आएका थिएनन् । पछि क्रिजमा नआई उनी रिटायर्ट आउट भएपछि नेपाल विजयी भएको थियो ।
ओमानका मोहम्मद नदीमले सर्वाधिक ६५ रन बनाए । सन्दीप गौड ४६ रनमा आउट भए । छैटौँ विकेटका लागि सन्दीप र नदिमले ९६ रनको सानदार साझेदारी गर्दै झिनो जितको आशा कायम राखेका थिए ।
तर दीपेन्द्रसिंह ऐरीले ४२ औँ ओभरको पहिलो बलमा सन्दीप गौडलाई सोमपाल कामीबाट लङअनमा क्याच गराउँदै उक्त नेपाललाई जित नजिक पुर्याएका थिए । करण केसीको अर्को ओभरमा मिडअफमा रोहित पौडेलले नदिमको उत्कृष्ट क्याच लिएपछि नेपालको जित अनौपचारिकता बाँकी देखिएको थियो ।
नेपालका सन्दीप लामिछानेले ८ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । उनी ओडिआई इतिहासमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने खेलाडी बनेका छन् । उनले ४२ खेलमा १ सय विकेट पूरा गरेका हुन् । यसअघि अफगानिस्तानका राशिद खानको नाममा ४४ खेलमा १ सय विकेट पूरा गरेको कीर्तिमान थियो ।
करण केसीले ८.३ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ललितले एक विकेट लिए ।
त्यसअघि घरेलु मैदान टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । यो नेपालले ओडिआईमा बनाएको हालसम्मकै उच्च योगफल हो । यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन थियो ।
नेपालका कुशल मल्लले १ सय ८ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । कुशलले ५९ बलमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक प्रहार गरेका थिए । उनी नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बने । कुशलले कप्तान रोहित पौडेलको कीर्तिमान तोडेका हुन् ।
सोमपाल कामी ६३ रनमा नटआउट रहँदै विशाल योगफलमा पुर्याएका थिए । करण केसी २९ रनमा नटआउट रहेका थिए । नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको थियो । चौथो ओभरको चौथो बलमा आसिफ शेख पनि शून्यमै आउट भए । दुवै ओपनर खाता नखोल्दै आउट भए पनि तेस्रो विकेटका लागि रोहित र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए ।
रोहितले २३ रन बनाए । भीम सार्की ३३ रनमा स्टम्पिङ आउट भए ।
पाँचौँ विकेटका लागि आरिफ शेख र कुशल मल्लले ७५ रनको सानदार साझेदारी गरेका थिए । आरिफ शेख २९ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए ।
समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेल सोमबार साउदी अरेबियासँग खेल्नेछ ।
समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ