मंसिर ४ को निर्वाचनपछि चार वटा प्रदेश सरकारको नेतृत्व सम्हालेको नेकपा एमालेले तीन वटा सरकार भने गुमाएको छ। सुदूरपश्चिम र गण्डकीपछि लुम्बिनी प्रदेश सरकारको नेतृत्व गुमाएको हो। गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीले त दुई दिनको अन्तरमा सत्ता गुमाएका छन्।
एमालेसँग अब कोशी प्रदेशको मात्रै नेतृत्व बाँकी छ। सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्रसिंह रावल पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
गण्डकीको मुख्यमन्त्रीको रुपमा खगराज अधिकारी पुस २५ गते नियुक्त भएका थिए। संघीय गठबन्धन परिवर्तन भएसँगै माओवादी केन्द्रले चैत १० गते मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन समेत फिर्ता लिएको थियो।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले वैशाख ९ गते दोस्रो पटक विश्वासको मत लिएका थिए। तर आवश्यक ३१ मत पुर्याउन सकेनन्।
लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले दोस्रो पटक सोमबार (वैशाख १२ गते) विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि भएको मतदानमा उनले आवश्यक बहुमत पाउन सकेनन्। मतदानमा प्रस्तावको पक्षमा अर्थात् गिरीको पक्षमा ३३ मत परेको थियो। विपक्षमा भने ५३ मत परेको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ