वीरगंज । देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको एकिकृत भन्सार जाँच चौकी आइसिपी वीरगंज र मुलुककै पहिलो सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७९/०८० को ९ महिनामा १ खर्ब ८२ अर्ब ५७ करोड २२ लाख ४७ हजार रुपैयाँ राजस्व असुली भएको छ ।
अर्थ मन्त्रालय भन्सार विभागले आइसिपी भन्सारलाई ९ महिनाको अवधिमा १ खर्ब ९१ अर्ब ३ करोड ६४ लाख ११ हजार राजस्व उठाउने लक्ष्य तोकेको भए पनि आयात निर्यात व्यापार प्रभावित भएसँगै बीरगंज भन्सारको राजस्व असुलीमा गिरावट आएको प्रमुख भन्सार प्रशासक राजेन्द्र प्रसाद चुडालले जानकारी दिनुभयो ।
वीरगंज भन्सार कार्यालयले ९ महिनामा तोकिएको लक्ष्य भन्दा झण्डै ३९ दशमलव ७३ प्रतिशत कम राजस्व असुली भएको छ । तुलनात्मक रुपमा हेर्दा लक्ष्य भन्दा ७५ अर्ब ९० करोड २९ लाख ५९ हजार कम राजस्व असुली भएको र यसको प्रभाव मुलुकको अर्थतन्त्रमा पर्ने हुँदा अर्थविद्हरू चिन्तित भएका छन् ।
चालु आर्थिक वर्षको ९ महिनामा वीरगंज नाकाबाट हुने मालवस्तुको आयात निर्यात घट्नुको सवारी साधनको आयात तथा खरिद विक्री प्रभावित भएसँगै यसको असर राजस्व असुलीमा परेको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुडालले बताउनुभयो ।
यसैगरी वीरगंज भन्सार कार्यालयले भन्सार राजस्व तर्फ ४० अर्ब ५९ करोड ६५ लाख ८० हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि कर तर्फ ५२ अर्ब १० करोड ८३ लाख ७७ हजार राजस्व असुली भएको छ ।
त्यसैगरी अन्त शुल्क तर्फ ७ अर्ब ४५ करोड १० लाख ७७ हजार असुली गरेको चुडालले बताउनुभयो । त्यसैगरी बीरगंज भन्सार कार्यालयले पूर्वाधार कर तर्फ ९ अर्ब ८७ करोड १९ लाख ५२ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्क तर्फ १ अर्ब २२ करोड ७३ लाख असुली गरेको छ ।
यसैगरी वीरगंज भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुर तर्फ २ अर्ब ५४ करोड ७३ लाख ४५ हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा १ अर्ब ३ करोड ५९ लाख ६ हजार राजस्व असुल गरेको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
आइसिपी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा १ खर्ब ५१ अर्ब ९३ करोड १४ लाख २३ हजार रुपैयाँ राजस्व असुली गरी लक्ष्य तोकिएकोमा लक्ष्य भन्दा झण्डै ३ अर्ब ४५ करोड १५ लाख ३४ हजार भन्दा बढी राजस्व सङ्कलन गरेको थियो ।
त्यसैगरी आर्थिक बर्ष २०७९/०८० को ९ महिनामा सिर्सिया सुख्खा बन्दरगाह भन्सारले ६७ अर्ब ४३ करोड ८६ लाख ९५ हजार राजस्व असुली गरेको छ । रेल मार्ग भई भारत तथा तेस्रो मुलुकबाट भित्रिने माल वस्तुबाट सिर्सिया सुख्खा बन्दरगाहले भन्सार महसुल बापत १४ अर्ब १८ करोड ७८ लाख राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि कर तर्फ १८ अर्ब ८३ करोड ७१ लाख ७ हजार राजस्व असुली गरेको छ ।
त्यसैगरी अन्त शुल्क तर्फ ३ अर्ब २ करोड १३ लाख ७ हजार राजस्व असुली भएको ड्राईपोर्ट भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थीले जानकारी दिनुभयो । ड्राईपोर्ट भन्सारले समेत लक्ष्य अनुसारको राजस्व असुली गर्न नसकेको भन्सार प्रमुख पन्थीले बताउनु भयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ