जुम्ला । जुम्ला स्याउ उत्पादनमा आत्मनिर्भर जिल्ला हो । जुम्लालाई स्याउको राजधानी समेत भनिन्छ । यहाँका १९ हजार घरधुरी मध्ये १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर छ । जुम्लाको बेसीदेखि लेक सम्मको सबै जमिन स्याउ खेतीका लागि उर्वर छ । पछिल्लो समय स्याउ खेतीको क्षेत्र समेत विस्तार हुँदै गएको छ । कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार जुम्लाको चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ ।
राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा जुम्ली अर्ग्यानिक स्याउको माग बढेसँगै पछिल्लो समय स्याउको क्षेत्र विस्तार हुँदै गएको छ । सुपरजोन, पालिका, कृषि विकास कार्यालयले स्याउ खेतीको विस्तार गरिरहेका छन् । तर स्याउ खेती विस्तार भएको यकिन तथ्याङ्क आउन बाँकी छ ।
स्याउ खेतीको क्षेत्र विस्तार तथा किसान आकर्षित भएपनि व्यवसायीक स्याउ खेती नहुँदा बजारको माग अनुसार पूर्ति हुन सकेको छैन । समग्र नेपालकै मागलाई धान्न सक्ने स्याउ उत्पादनको सम्भावना भएको जुम्लामा व्यवसायीक स्याउ खेती नहुँदा वर्षेनि चीन र भारतबाट नेपालमा अर्बौँको स्याउ निर्यात हुने गरेको छ । भने जुम्ला सहित अन्य जिल्लाको स्याउले ४÷५ महिना समेत धान्न सकेको छैन ।
बजारमा बढ्दो जुम्ली स्याउको मागलाई मध्यनजर गर्दै स्याउले आर्थिक समृद्धि,रोजगारी सृजना तथा पर्यटन प्रर्बद्धनमा टेवा पुराउने लक्ष्यका साथ जुम्लाको गुठिचौरमा करोडौँको लगानीमा कर्णाली प्रदेशकै ठुलो स्याउ बगैँचा निर्माण गरिएको छ ।
करोडौँको निजी लगानीमा निर्माण गरिएको कर्णालीको पहिलो तथा नेपालकै दोस्रो ठुलो स्याउ बगैँचाले जुम्लाको आर्थिक समृद्धि,एग्रो टुरिजम प्रवर्द्धन तथा रोजगारी सृजनामा पुग्ने देखिएको छ । बुधबार कृषि विकास कार्यालय जुम्लाको आयोजनामा जिल्ला स्थित सरोकारवालाले गुठिचौरमा रहेका तीन वटा बृहत् बगैँचाको अनुगमन गरेका छन् ।
जुम्लाले स्याउबाटै कृषि क्रान्ति सुरु गरेकोले गुणस्तरीय उत्पादन, ग्रेडिङ, लेवलिङ तथा प्याकेजिङमा ध्यान दिनुपर्ने र ढुवानीमा राज्यले सहुलियत दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,“जुम्ला समृद्धिको एक स्रोत स्याउ हो । स्याउको व्यवसायी खेती विस्तार तथा किसानको उत्पादन सुरक्षित हुने नीति आवश्यक छ । सरकारले ढुवानीमा सहुलियत दिनुपर्छ भने,किसानले उत्पादनमा जोड दिन जरुरी छ ।”
३० करोडका तीन बगैँचा, ६४ हजार बिरुवा
गुठिचौर गाउँपालिका वडा नं. ५ र ३ मा गरी झण्डै ३० करोड बढी लगानीमा तीन वटा बृहत् स्याउ बगैँचा निर्माण भएका छन् । जस मध्य सबैभन्दा ठुलो ‘गुठिचौर एग्रो फर्म’द्वारा निर्माण भएको बगैँचा हो । जहाँ १८ हेक्टर जमिनमा ४८ हजार विरुपा रोपिएको छ ।
गुठिचौर ५ केसी बहादुर भण्डारीले २२ करोड लगानीमा २०७६ सालबाट नेपालकै दोस्रो ठुलो बगैँचा निर्माण गरेका हुन् । गत वर्ष ८० टन स्याउ उत्पादन भएको भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“स्याउबाटै जुम्लाको समृद्धि सम्भव छ,भन्ने उद्देश्यले स्याउखेती गरेको हुँ । २०७६ सालमा १५ सय बिरुवा रोपेर बगैँचा सुरु गर्यौ । विस्तार गर्दै जाँदा ४० हजार बिरुवा रोपेका छौ । यस वर्ष दुई सय टन उत्पादन हुने लक्ष्य छ । भने दुई वर्षभित्र ३ लाख बिरुवा रोप्ने योजना बनाएका छौ ।”
हाल फर्ममा फुजि, गाला, किंरड, फुजि, गोल्डेन लगायतका जातको स्याउ उत्पादन भइरहेको छ । बगैँचामा कृषि वैज्ञानिक समेत राखिएको छ । जसले नियमित अनुसन्धान गर्छन् । हाल पूर्व स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले समेत ५० प्रतिशत सेयर लिएका छन् ।
त्यस्तै, गुठिचौर ३ का टंक गरीले साढे ७ करोड लगानीमा २२ हेक्टर जग्गामा १४ हजार बिरुवा रोपेर बृहत् बगैँचा निर्माण गरेको २ वर्ष भयो । ‘श्री हिमाली टि एण्ड एन एग्रो फर्म’ मार्फत गुठिचौर ३ मा गिरीले बृहत् बगैँचा निर्माण गरेका हुन् । स्याउबाटै रोजगारी सृजना गर्ने र जुम्लालाई एग्रो टुरिजमको हब बनाउने लक्ष्य राखेको उहाँको भनाई छ ।
साथै, गुठिचौर ५ मै ‘सामुदायिक स्याउ उत्पादन समूह’ मार्फत ६५ हजार वर्ग मिटर जग्गामा सामूहिक स्याउ खेती भइरहेको छ । १ करोड लगानीमा निर्माण भएको बगैँचामा हाल २८ सय बिरुवा रोपिएको सञ्चालक धर्म भण्डारीले बताए । उनका अनुसार समूहमा ४० जना किसान आबद्ध रहेका छन् ।
समग्रमा गुठिचौर एग्रो फर्म,‘श्री हिमाली टि एण्ड एन एग्रो फर्म’ र सामूहिक स्याउ उत्पादन समूह गरी तीन फर्मले झण्डै साढे ३० करोड लगानीमा व्यवसायीक स्याउ खेती गरेका छन् ।
जसले स्याउलाई जुम्लाको समृद्धि सम्भव रहेको र स्याउ खेतीमा जोड दिनुपर्ने सन्देश समेत दिएको प्रमुख जिल्ला अधिकारी जय प्रसाद घिमिरेले बताउनुभयो । स्याउ खेतीलाई पर्यटन प्रवर्द्धन सँग जोडे जुम्लाले मनग्य आर्थिक भित्राउने सक्ने सम्भावना रहेकोले तीनै तहका सरकारले जुम्लाको स्याउ खेतीमा विशेष बजेट दिनुपर्नेमा उहाँको जोड छ ।
५० जनालाई रोजगार
गुठिचौर एग्रो फर्म र श्री हिमाली टि एण्ड एन एग्रो फर्मले झण्डै ५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । जसमा गुठिचौर एग्रो फर्मले कृषि वैज्ञानिक सहित ३२ जना बेरोजगार महिला पुरुषलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
दैनिक ३० देखि ४० जना ज्यालादारीमा काम गरिरहेका छन् । भने स्याउ टिप्ने,सिचाई गर्ने समयमा ज्यालादारी गर्नेको सङ्ख्या बढ्ने गरेको सञ्चालक केसी भण्डारीले जानकारी दिनुभयो । मुख्य उद्देश्य भनेकै आम्दानीसँगै रोजगारी सृजना भएकोले भविष्यमा स्याउबाटै सयौँलाई रोजगारी दिन सकिने बताउनुभयो ।
त्यस्तै ‘श्री हिमाली टि एण्ड एन एग्रो फर्मले प्रत्यक्ष स्थायी रुपमा १६ जनालाई रोजगारी दिएको सञ्चालक टंक गरीले बताउनुभयो । उहाँले भन्नुभयो,“भविष्यमा सयौँको सङ्ख्यामा रोजगारी दिन सकिने सम्भावना छ । दिन्छौ पनि तर अहिले स्थायी रुपमा १६ जना र दैनिक ज्यालादारीमा २५÷३० जना काम गरिरहेका छन् ।”
भूगोल सँगै स्याउको सिजनमा मनाङ मुस्ताङमा पर्यटकको आगमन वृद्धि हुने गरेको छ । त्यसैगरी जुम्लामा पनि सिजनल पर्यटक भित्राउन स्याउ खेतीलाई पर्यटनसँग जोड्न आवश्यक रहेको पातारासीका अध्यक्ष पूर्णसिंह बोहोराले बताउनुभयो । भने जुम्लामा स्याउबाट देखिएको आर्थिक समृद्धि, पर्यटन पर्यटन प्रर्बद्धनमा पुग्ने टेवा, रोजगार सृजनाको सम्भावनालाई प्रचारप्रसार गर्नुपर्नेमा कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश बहादुर अधिकारीको जोड छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ