लुम्बिनी प्रदेशमा आज नयाँ सरकार बन्ने भएको छ । कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी माओवादी केन्द्रसहित गठबन्धनका सांसदको समर्थनमा मुख्यमन्त्री बन्न लागेका हुन् । प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो ४ बजे मुख्यमन्त्री नियुक्तिको पत्र दिने तयारी रहेको छ ।
माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरेको भए पनि केन्द्रले कांग्रेसलाई समर्थन गर्न निर्देशन दिएपछि माओवादी पछि हटेको हो । मन्त्रालयको भागबन्डामा भने सहमति जुटेको छैन । त्यसैले, आज एक/एक जना मन्त्री मात्रै नियुक्त गर्ने तयारी रहेको बताइएको छ ।
पहिलो खेपमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री हुने र दोस्रो खेपमा माओवादी केन्द्रबाट मुख्यमन्त्री हुने अनौपचारिक सहमति भइसकेको छ । तर, लिखित सहमति भएको छैन । माओवादीले अहिले लिखित सहमति खोजेको पनि बताइएको छ ।
आलोपालो मुख्यमन्त्रीको कुरामा औपचारिक सहमति नभएका कारण मन्त्रालय भागबन्डामा पनि समस्या देखिएको बताइएको छ । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आजसम्मको समय दिएका छन् । सत्ता गठबन्धनमा रहेका आठवटा दलले आज दिउँसो मुख्यमन्त्रीको दाबी पेस गरेपछि ४ बजे नियुक्ति पत्र दिने प्रदेश प्रमुखको कार्यालयको तयारी छ ।
माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराविरुद्ध माओवादी केन्द्रका ठूलो टिम रहेका कारण पनि कांग्रेससँग सहमति जुटाउन समस्या भएको हो । त्यही समस्याका कारण पनि मन्त्री छनाेटमा समस्या भएको माओवादी नेताहरूको भनाइ छ ।
महरा क्षमताले भन्दा पनि प्रचण्डको स्वकीय सचिव भएका कारणले सांसद भएको र संसदीय दलको नेता भएको माओवादीभित्रै टिप्पणी रहेको छ । उनको कार्यशैलीसँग माओवादीभित्र चर्को आलोचना भएकै कारण अघिल्लो गठबन्धनमा कृष्णा केसीले असन्तुष्टिसहित मन्त्रीबाट राजीनामा दिएकी थिइन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ