रुपन्देही । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री र तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
प्रदेश प्रमुखसमक्ष बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र बिना विभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
मास्की माओवादी केन्द्रका तर्फबाट दाङ क्षेत्र नं.३(२)बाट निर्वाचित हुनुभएको हो भने लोसपाबाट मन्त्री बन्नुभएका पाण्डे रुपन्देही ३ को २ बाट र नागरिक उन्मुक्तिका चौधरी बर्दियाबाट निर्वाचित हुनुभएको हो ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका चौधरीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
मुख्यमन्त्री चौधरीले आज नै दाङस्थित कार्यालय पुगेर पदभार सम्हाल्ने कार्यक्रम रहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ