शनिबार, माघ २४, २०८२

काठमाडौँमा आर्थिक अपराधका घटनामा वृद्धि


कान्तिपथ


काठमाडौँ- काठमाडौँमा दिनानुदिन आर्थिक अपराधका घटना वृद्धि हुँदै गएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौँमा आर्थिक अपराधका घटनामा वृद्धि भएको बताउनुभएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज प्रहरीवृत्त दरबारमार्गले आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’मा उहाँले पछिल्लो समय काठमाडौँभित्र आर्थिक अपराधसम्बन्धी ‘चेक बाउन्स’का घटनामा उजुरी  बढेको बताउनुभएको हो । “काठमाडौँमा दैनिक ‘चेक बाउन्स’ सम्बन्धी ३० देखि ३५ उजुरी प्रहरीकामा आउने गरेको छ, मासिक झण्डै एक हजारभन्दा बढी उजुरी आउँछन्, आर्थिक अपराधका घटनाबाट सजग हुनुपर्छ”, उहाँले भन्नुभयो ।

डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्नेको सङ्ख्यासमेत बढेको उहाँको भनाइ छ । काठमाडौँ प्रहरी प्रमुख कार्कीले रात्रिकालीन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन आचारसंहिता बनाएर लागू गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले काठमाडौँको ठमेल, चितवनको सौराहा र कास्कीको बैदाम क्षेत्रलाई २४सै घण्टा सञ्चालन गर्न विगतमा सरकारले योजना बनाएको भन्दै यस क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिका–२ का वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले समाजमा हुने अपराध न्यूनीकरण गर्दै शान्त वडा निर्माणका लागि महानगरपालिकाले काम गरिरहेको बताउनुभयो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्न व्यावसायिक आचारसंहिता बनाएर लागू गर्नुपर्ने बताउनुभयो ।

प्रहरीवृत्त दरबारमार्गका प्रमुख, प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले ठमेल, दरबारमार्ग र लाजिम्पाट क्षेत्रलाई समृद्ध बनाउन यस क्षेत्रभित्र देखिएको विकृति अन्त्य गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका सहभागीले ठमेल, दरबारमार्ग र लाजिम्पाट क्षेत्रको व्यवसायलाई व्यवस्थित गर्नुेपर्नेमा जोड दिनुभएको  थियो ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत