मङ्लबार, अशोज ९, २०८०

ललिता निवास जग्गा हिनामिना प्रकरण : थप तीन जना पक्राउ


कान्तिपथ


काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याल रहेका सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।

सञ्चार सचिव राउतमाथि भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा नक्कली मोहीलाई ललिता निवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएको आरोप लगाइएको छ भने घिमिरेमाथि सरकारी जग्गा संरक्षणमा पहल नगरेको आरोप छ । यस्तै अर्याल भने त्यसबेला जग्गा नापजाँचमा खटिएको जनाइएको छ ।

उनीहरुलाई यसअघि नै पक्राउ पूर्जी जारी भएको थियो । उक्त प्रकरणमा सिआइवीले यसअघि नौ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

कीर्ते तथा सङ्गठित रुपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र गोपाल कार्की लगायत पक्राउ परिसकेका छन् ।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ ।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको ब्युरोले पुनः अनुसन्धान थालेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत