संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुँदैछ ।
सोमबार पनि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुन लागेको हो । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले संसदको अवरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग छलफल गर्न लागेका हुन् ।
यसअघि आइतबार भएको छलफलमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संसदको अवरोध हटाउने सहमति भएको थियो । प्रधानमन्त्री प्रचण्डले आफूले दिएको अभिव्यक्तिका विषयमा प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने र एमालेले अवरोध हटाउने सहमति बैठकमा भएको थियो ।
तर, बैठकमा भएको सहमतिविपरीत एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीका प्रेस सल्लाहकारको विज्ञप्ति फिर्ता नभएसम्म संसद अघि बढ्न नसक्ने बताएपछि प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित भएको थियो । प्रतिनिधिसभाको बैठक आजै दिउँसो ३ बजे बस्दैछ ।
प्रधानमन्त्री प्रचण्डले काठमाडौंमा १८ असारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको बताएका थिए । प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले राजीनामाको माग गर्दै संघीय संसदका दुवै सदनको बैठकमा अवरोध गर्दै आएको छ ।