प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिको सदनमा आत्मसमीक्षा गरेपछि पाँच दिनदेखि जारी संसद्को गतिरोध अन्त्य भएको छ । सम्बोधनमा आफ्ना कमजोरी स्विकारेका प्रधानमन्त्रीले प्रचण्डले विपक्षीतिर भने प्रश्नैप्रश्न तेर्स्याएका छन् ।
सम्बोधनको सुरुमा प्रधानमन्त्री प्रचण्डले विपक्षीले मुद्दा बनाएको आफ्नो अभिव्यक्तिको पृष्ठभूमि ब्याख्या गरे । आफ्नो आत्मसमीक्षाका क्रममा प्रधानमन्त्री प्रचण्डले विषयवस्तु ११ वर्षअगाडि भए पनि अहिले भावनात्मक रूपमा बोल्न पुगेको र यसलाई आफूले ‘महसुस’ गरेको बताए ।
‘यो ०६८–०६९ सालको कुरा हो । मेरो जेठी छोरी ज्ञानु क्यान्सरबाट पीडित भएर जीवन–मरणको संघर्षमा थिइन् । थप उपचारका लागि रिफर भएपछि दिल्ली जानुपर्ने अवस्था आयो । मेरो दिवंगत छोरा प्रकाशले ज्ञानुलाई लिएर दिल्ली जाँदा बस्ने व्यवस्था अन्यत्र गरिएको थियो,’ प्रचण्डले सुनाए, ‘तर, सरदार प्रितम सिंह, जसको पुस्तक विमोचनका सन्दर्भमा यो कुरा आएको छ, उनीसँग हाम्रो पारिवारिक सम्बन्ध थियो । उनले दिल्लीमा मेरो आफ्नै घर छ, छोरीको उपचार त्यहीँ राखेर गरे हुन्छ, अरू स्याहारसुसार सजिलो हुन्छ भनेपछि प्रकाशले त्यहीँ लगेको हो । छोरीको अन्तिम वेला थियो, केही समयपछि छोरीको स्वास्थ्य स्थिति बुझ्न गएको वेलाको कुरा हो यो ।’
छोरीको अन्तिम अवस्थाको भावनात्मक स्थितिमा आफू त्यहाँ पुग्दा सरदार सिंहसँग भेट भएको र उनले ‘नेपालमा प्रधानमन्त्री तपाईं नै हुनुपर्छ’ भनेर प्रसंग उठाएको प्रचण्डले उल्लेख गरे । ‘उहाँले भनेर म प्रधानमन्त्री हुनेवाला पनि थिइनँ । मैले उहाँलाई फेरि प्रधानमन्त्री बनाइदिनुस् भन्ने कुरा पनि थिएन । तर, उहाँले भावनामा आएर यो परिवर्तन ल्याउने मुख्य तपाईं हो, त्यसकारण प्रधानमन्त्री तपाईं हुनुपर्छ, मैले यहाँ दिल्लीमा पनि कुरा गर्ने गरेको छु, नेपालमा पनि दलहरूसँग कुरा गर्ने गरेको छु भन्नुभयो,’ प्रचण्डले सुनाए, ‘मैले तपाईंको शुभेच्छाका लागि धन्यवाद, अहिले त्यो स्थिति छैन भनेँ ।’
एउटा पारिवारिक वातावरणमा अलिकति भावनात्मक भएर प्रितम सिंहले उठाएको कुरामा सदासयताका लागि धन्यवाद मात्रै भनेको उल्लेख गर्दै प्रचण्डले थपे, ‘पुस्तक विमोचनको क्रममा उहाँले यातायात क्षेत्रमा गरेको सन्दर्भ आयो, अरू सामाजिक कामका कुरा आउँदै जाँदा मैले झ्वाट्ट ११ वर्षअघि छोरी डेथ बेडमा हुँदा गरेको कुरा सम्झेँ । अनि मैले भने कि सरदार सिंह खाली यातायात र सामाजिक सेवामा मात्र होइन, राजनीतिमा पनि चासो राख्नुहुन्छ । उहाँले एक चरणमा मलाई प्रधानमन्त्री बनाउन दिल्लीमा कुरा गरेको र देशभित्रका दलसँग पनि कुरा गरेको कुरा गर्नुभएको थियो । त्यसकारण उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ भनेको हो । मैले सम्झेको ०६८–६९ कै कुरा हो । छोरी पल्टिरहेको बेड पनि सम्झेँ । प्रितमले भनेको कुरा पनि सम्झेँ ।’