शनिबार, मंसिर १६, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • विष खुवाएर २ प्रेमिकाको हत्या गर्ने नक्कली डाक्टर ठगि मुद्धामा फेरि पक्राउ

विष खुवाएर २ प्रेमिकाको हत्या गर्ने नक्कली डाक्टर ठगि मुद्धामा फेरि पक्राउ


कान्तिपथ


नक्कली डाक्टर र डीएसपी बनेर ठगी धन्दा चलाउँदै आएका युवाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। नक्कली डाक्टर र डीएसपी बनेर ठगी गर्ने कञ्चनपुर घर भएका बलराम भनेर चिनिने २७ वर्षीय मातृका प्रसाद जैसीविरुद्ध ठगी मुद्दा दायर भएको हो।

विभिन्न युवती तथा युवाहरुबाट उनले १ करोड ७ लाख ३८ हजार रुपैयाँ ठगी गरेको भन्दै सोहीअनुसार बिगो कायम गर्दै अदालतमा मुद्दा दायर भएको छ। जैसीलाई ठगी आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत असार ७ गते पक्राउ गरेको थियो।

उनले ललितपुरमा क्लिनिक सञ्चालन गर्ने एक युवतीलाई नक्कली डाक्टर बनेर ठगी गरेका थिए। आफू वीर अस्पतालको १२औं तहको डाक्टर भएको बताउँदै एप्रोन लगाएर युवतीसँग भिडियो कलमा कुराकानी गरेर विश्वास दिलाउने गरेका थिए।

अर्का अमरबहादुर बिष्टलाई भने उनले डीएसपी नक्कली डीएसपीको परिचय दिँदै ठगी गरेको खुलेको छ। प्रहरी हवल्दारबाट अवकाश लिइ बसेका बिष्ट पठाओ राइडर बनेका थिए। पठाओ चलाउने क्रममा बिष्टले उनलाई कौशलटारबाट महाराजगञ्ज पुर्‍याएका थिए। सोही क्रममा उनीहरुबीच चिनजान भएको थियो। त्यतिबेला बिष्टलाई जैसीले आफू नेपाल प्रहरी अस्पतालको डाक्टर (प्रहरी निरीक्षक) भएको बताएका थिए।

केही समयपछि जैसीले अमरलाई फोन गरी आफू डीएसपीमा बढुवा भएको जानकारी समेत गराएका थिए। पछि बैंकको किस्ता तिर्नका लागि २५ हजार ९३० रुपैयाँ चाहिने भन्दै खातामा हाल्न लगाएर ठगी गरेको खुलेको छ।

अहिले ठगी आरोपमा मुद्दा चलेका जैसी यसअघि भने दुई प्रेमिकाको आत्महत्या दुरुत्साहनमा ६ वर्ष जेल बसेका व्यक्ति भएको खुलेको छ। प्रहरी अनुसन्धानबाट खुलेअनुसार यसअघि २०७० सालमा कैलालीको धनगढीमा कलेज पढ्दा जैसीले एकसाथ २ प्रेमिका बनाएका थिए। २ जनासँगको प्रेमबारे एक–अर्की प्रेमिकाले थाहा पाएपछि विवादले चरम रुप लियो। त्यसपछि जैसीले आइडिया निकालेछन्– तीनै जना सँगै विष पिएर आत्महत्या गरौं।

उनले दुई जनै प्रेमिकालाई विष सेवन गराए। तर आफूले भने नक्कली विष पिए। २ प्रेमिकाको विष सेवनबाट मृत्यु भयो। उक्त घटनामा जैसी ६ वर्ष जेल बसेर छुटेका व्यक्ति भएको परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत