मङ्लबार, अशोज ९, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • प्रधानमन्त्री प्रचण्डका पुर्व निजी सचिवले समाते झण्डै १०० किलो सुन

प्रधानमन्त्री प्रचण्डका पुर्व निजी सचिवले समाते झण्डै १०० किलो सुन


कान्तिपथ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको छ । मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालय अगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो । प्रारम्भिक अनुसन्धानमा सो सुन व्यवसायी दीपक मलहोत्राको भएको देखिएको अनुसन्धानमा खटिएका अधिकृतहरूको भनाइ रहेको नयाँ पत्रिकाले लेखेको छ, तर अनुसन्धान जारी रहेकाले उनीहरू औपचारिक रूपमा बोल्न चाहँदैनन् ।

मंगलबार साँझ विभागले गरेको गोप्य अप्रेसनमा सुनसहित चारजना पनि पक्राउ परेका छन् । सुनको यकिन परिमाण आइनसके पनि (जोख्न बाँकी) करिब सय केजीहाराहारीमा रहेको अनुसन्धान विभागका अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार सुनका एक सय ६० टुक्रा बरामद भएका छन्, जसको मूल्य करिब एक अर्बभन्दा बढी रहेको अनुमान गरिएको छ । नेपालमा सुन बरामद परिमाण यो नै अहिलेसम्मकै ठूलो हो । यसअघि एकैपटक ८८ केजीसम्म बरामद भएको थियो ।

विभागले रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दिलीपको बयानका आधारमा रामकुमार पक्राउ परेका हुन् । रामकुमार दिलीपका मामा हुन् । ‘मैले मामाले भनेअनुसार सो सामान पास गराएको हुँ,’ उनले बयानमा भनेका छन् । मामा–भान्जा बुधबार पक्राउ परेका हुन् भने अन्य दुई मंगलबार नै पक्राउ परेका थिए ।

विमानस्थल भन्सार कार्यालयअगाडिबाट बा.२च २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको थियो । यो तस्करीमा ठूलै व्यापारीको संलग्नताको आशंका गरिएको छ । मंगलबार साँझ नै सुन बरामद भए पनि गोप्य राखेर बुधबार दिनभरि विभागले अप्रेसन चलाएको हो ।

क्याथे प्यासिफिकको विमानबाट आएको सुन मंगलबार दिउँसो करिब २ बजे नै भन्सार पास भएको थियो । त्यसको तीन घन्टापछि बरामद भएको हो । रामकुमारको बयानबाट यसमा संलग्न ठूलै अर्थात् मुख्य व्यापारीसम्म पुग्न सकिने विभागका अधिकारीको भनाइ छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले विभागमा आउनुभन्दा अघिदेखि नै विमानस्थलबाट हुने सुन तस्करीको विषयमा अपुष्ट सूचना पाएका थिए । गत १२ असारमा उनी विभागको महानिर्देशक बने । अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भइरहेको सूचनाका आधारमा उनले सूक्ष्म निगरानी बढाएका थिए । प्रारम्भिक विश्लेषणमा तस्करी भइरहेको उनले पाए ।

यसक्रममा मंगलबार विमानस्थलबाट ठूलो परिमाणमा कार्गाेमार्फत सुन आउँदै गरेको सूचना विभागको इन्टेलिजेन्सले महानिर्देशक ढुंगानालाई दियो । तस्करीलाई उनी जसरी पनि रोक्न चाहन्थे । इन्टेलिजेन्सको त्यही सूचनाका आधारमा उनले विभागका कर्मचारीलाई अप्रेसनमा खटाए र झन्डै सय किलो सुन बरामद भयो । ढुंगाना प्रचण्डका पुर्व निजि सचिव हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत