शनिबार, अशोज १३, २०८०

आफ्नै भूमि टेक्न सकस : कि भारतीय बाटो,कि जोखिमपूर्ण यात्रा


कान्तिपथ


नवलपरासी । सुन्दा अचम्म लाग्न सक्छ आफ्नै भूमि आउजाउ गर्न पनि भारतीय बाटो प्रयोग गर्नु पर्छ या ज्यानै जाेखिम राखेर डुङ्गाको यात्रा गर्नु पर्छभन्दा । तर, यो वास्तविक पीडा हो । समयमै पुल नबन्दा पश्चिम नवलपरासी स्थित सुस्ता पारीका नागरिकले बर्षाैदेखि भाेगेकाे पीडा हाे याे । बिचको नारायणी नदिले सुस्तालाई वारी पारी छुट्टाएको छ । २०७२ चैत्र ६ गते शिलान्यास भएर निर्माणाधीन अवस्थामै रहेको यहाँको झोलुङ्गे पुल ठेकेदारको लापरबाहीका कारण आजसम्म सम्पन्न हुन सकेकाे छैन ।

यही साउन महिनादेखि पुलबाट आउजाउ गर्ने सुस्तावासीको सपना यस पटक पनि अधुरै रह्यो । उनीहरूको पुल चढ्ने सपनामाथि यसपाली पनि तुषारापात भयो । पटक पटक समय थप गर्दा समेत सुस्ता गाउँपालिका स्थित नारायणी नदिमा निर्माण भइरहेको नेपालकै लामो झोलुङ्गे पुलको काम पुरा नहुँदा स्थानीय बाढीमा जोखिमपूर्ण डुङ्गाको यात्रा गर्न बाध्य छन् । यही असार मसान्त म्म पुल निर्माण सक्नका लागी २०७८ साल चैत्रमा सरकारले थप समय उपलब्ध गराएपनि निर्माण सम्पन्न भएको छैन । २७२ साल चैत्र ६ गते शिलान्यास भई २०७३ सालको पुसबाट सुरु भएको पुलको निर्माण कार्य तीन वर्ष भित्रै सकिनुपर्ने थियो तर पटक पटक म्याद थप गर्दा समेत पुलको काम पुरा हुन नसकेको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनु भयो । ‘२०७२ चैत ६ गते शिलान्यास भएको हो अझै काम सकिएन,बरु म्याद थपको कुरो आएको छ,नागरिकले अझै कति दुख पाउने ’, अध्यक्ष उपाध्यायले भन्नुभयो ।

नारायणीपारिका सुस्तावासीको सपनाको रुपमा रहेको पुलको १० वटा मुख्य पिल्लरको काम सकेर त्यसमाथि स्टिलका टावर बनाउने काम अन्तिम चरणमा छ । नारायणीमा पानीको सतह बढेकाले नदीको दुवै किनारा तर्फ बाँकी काम भइरहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरका इन्जिनियर गोपाल बहादुर थापाले जानकारी दिनुभयो । अन्तिम चरणमा रहेको पुल निर्माणको काम सक्न ठेकेदारलाई फेरि समय उपलब्ध गराउन लागिएको छ । चार महिना थप समय दिएर काम सक्ने योजना अनुरूप म्याद थपको प्रक्रिया सुरु भएको थापाले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत