शनिबार, अशोज १३, २०८०

माओवादी बैठक: सदस्यहरुले धारणा राख्नेक्रम जारी


कान्तिपथ


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा आज पनि केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ ।

पूर्व निर्धारित समय अनुसार नै बिहान ११ बजेदेखि केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको हो ।कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी पूर्ण बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं साङ्गठनिक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहनु भएको छ ।

बिहीबार सुरु भएको पूर्ण बैठकमा पहिलो र दोस्रो दिन वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरासहित ७४ जना केन्द्रीय सदस्यले अध्यक्षको प्रस्तावमाथि आ–आफ्नो धारणा राख्नुभएको छ । बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय प्रदान गरिएको छ ।

हिजोको बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित जनप्रिय काम गरिरहेको, भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकारले चालेको कदमले जनतामा नयाँ आशा र विश्वास जगाएको धारणा राख्नु भएको छ ।

धारणा राख्ने क्रममा केन्द्रिय सदस्यहरुले पार्टीको ऐतिहासिक आठौँ महाधिवेशनले संश्लेषण गरेको राजनीतिक कार्यदिशा वैज्ञानिक र वस्तुनिष्ठ भएकाले सोहीअनुरूप पार्टी पुनर्निर्माणको कार्ययोजना निर्माण गरेर अगाडि बढ्नुपर्ने, पार्टी रूपान्तरण गर्दै समाजवादको आधार तयार पार्न सिङ्गो पार्टी एकताबद्ध बनाउने सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।

बैठकमा सहभागीहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत