मङ्लबार, अशोज ९, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • विशेष रुपान्तरण अभियान घोषणा कै दिन माओवादीबाट ल्हारक्याललाई नियुक्ति !

विशेष रुपान्तरण अभियान घोषणा कै दिन माओवादीबाट ल्हारक्याललाई नियुक्ति !


कान्तिपथ


वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानीलगायतका अभियोगमा पक्राउ पर्दै छुट्दै आएका पूर्वसांसद ल्हारक्याल लामालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्‌को पछिल्लो बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो । माओवादी केन्द्रीय सदस्य रहेका लामाले आइतबार नै नियुक्तिपत्र बुझेका छन् ।
केहि पहिले प्रचण्ड लुम्बिनीको विकासका लागि एशिया प्यासिफिक एक्स्चेञ्ज एण्ड को-अपरेशन फाउन्डेसन (एपेक) को उपाध्यक्ष थिए ।

त्यसबेला प्रचण्ड लुम्बिनीमा अन्तरराष्ट्रिय लगानी भित्र्याउन जोडतोड गरिरहेका थिए । तर, त्यहीबेला सभासद ल्यारक्याल लामाचाँहि भन्दै थिए- ‘प्रचण्डले अशोकको पिल्लर बेचेर खान्छ कि भन्ने मलाई डर लागेको छ ।’

बीबीसी साझा सवालका लागि लुम्बिनीमै खिचिएको भिडियोमा ल्यारक्यालले प्रचण्डमाथि यस्तो गम्भीर आरोप लगाएका थिए । साझा सवालको २१६ औं श्रृंखलाको यो भिडियो अहिले पनि युट्युबमा मज्जाले हेर्न र सुन्न सकिन्छ ।

उनी २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री नियुक्त भएका थिए । नियुक्तिलगत्तै दोहोरो नागरिकता र राहदानीको विषय उठेपछि उनले १० दिनमै मन्त्री पदबाट राजीनामा दिएका थिए । २०६४ सालको पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सभासद बनेका लामा २०७० मा माओवादी प्रवेश गरी दोस्रो संविधानसभामा पनि सभासद बनेका थिए । उनी २०५८ सालमा कांग्रेसबाट गुम्बा व्यवस्था तथा विकास समितिको अध्यक्ष बनेका थिए ।

प्रचण्डले अशोक स्तम्भ बेच्छ भन्ने ल्यारक्यालको लुम्बिनीको उपाध्यक्ष बन्न दौडधुप (भिडियो) !

स्मरणीय के छ भने माओवादीले हिजै ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गरेको छ। आइतबार पार्टीको केन्द्रीय कमिटि बैठकले भदौं १६ देखि मंसिर १५ सम्म उक्त अभियान सञ्चालन गर्ने घोषणा गरेको हो।

उक्त अभियान अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल सबै प्रदेशका ७ वटा वडामा जाने भएका छन्। उनले त्यहाँ गएर जनतासँग साक्षात्कार गर्ने भएका छन्।

स्थायी ठेगाना हेलम्बु-६, सिन्धुपाल्चोक भए पनि लामाले भारतका बौद्ध धर्मशालामा बाल्यकाल बिताएका हुन्। भारतबाटै उनले बौद्ध दर्शनमा विद्यावारििध गरे। पुस ०५८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले गुम्बा व्यवस्था विकास समितिको अध्यक्षमा नियुक्त गरेपछि लामा एकाएक सार्वजनिक पदमा देखिए।

चैत ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री नियुक्त भएका लामाले आफूलाई सुरक्षा ‘थ्रेट’ रहेको भन्दै रेकर्ड नहुने र अरूलाई फोन गर्दा नम्बर नदेखिने मोबाइल नम्बर माग गरेका थिए। त्यसप्रति गृह मन्त्रालयका अधिकारीहरूले शंका गरेपछि उनको विवादास्पद पृष्ठभूमिको खोजी हुन थाल्यो। विवाद बढ्दै गएपछि एक महिना पनि नपुग्दै उनले राजीनामा दिए।

त्यतिखेर उनले नेपालबाट दुईवटा नागरकिता, भारतबाट रासनकार्ड र राहदानी तथा तिब्बती शरणार्थीको परचियपत्र लिएको आशंकामा छानबिन सुरु भएको थियो। नेपाल प्रहरीका महानिरीक्षक मातहत रहने गोप्य संरचना इन्टेलिजेन्स ब्युरोले उनका दैनिक गतिविधिबारे अनुसन्धान गरेको थियो।

प्रधानमन्त्री कै पार्टीका नेतासँग २ देशका नागरिकता र पासपोर्ट : होला त छानबिन ?

एमाले नेताहरूसँग उनको सम्पर्क भने काठमाडौँ महानगरपालिकाका प्राविधिक कर्मचारी गम्भीरलाल श्रेष्ठमार्फत भएको थियो। गुम्बासम्बन्धी जग्गाको कारोबार गर्ने क्रममा श्रेष्ठले एमाले नेता अमृत बोहरा र ईश्वर पोखरेलसँग लामालाई भेट गराएका थिए। त्यही सम्पर्कका आधारमा उनले भेटघाट बढाउँदै पार्टीको सदस्यता लिन भ्याए। कतिसम्म भने लामालाई सदस्यता दिन एमाले नेताद्वय बोहरा र पोखरेल दुवै महाराजगन्जस्थित उनको निवासमै पुगेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत