रुपन्देही । लामो दुरीको यात्रामा गाडी रोक्ने, स्वास्थ्यकर खाना, नास्ता र केही समय आराम गर्ने स्थान नहुँदा समस्या छ । पूर्वको होस् या पश्चिमको यात्रा । जताततै यी समस्या छन् । अरू त कुरै छाडौँ शौच गर्ने स्थानसमेत नपाउँदा खाली स्थान र जङ्गलभित्र पस्नुपर्ने बाध्यता छ ।
यही समस्या समाधानका लागि लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्ग अन्तर्गत ५ जिल्लामा ५ वटा स्मार्ट रिफ्रेस सेन्टर सञ्चालन गर्ने योजना ल्याएर काम थाले पनि ४ वर्षमा पनि पूरा भएको छैन ।
२०७७ सालमा तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले दुई वर्षमा यी योजना पूरा हुने घोषणा गरे पनि अहिलेसम्म ३ वटा सुरु भएको तर पूरा भने हुन सकेको छैनन् । एउटा सुरु नै भएको छैन भने एउटा सुरु भए पनि जग्गा विवादमा अलपत्र परेको छ । यो बीचमा ४ जना मुख्यमन्त्री बने पनि ती योजना अझै पूरा नभएका हुन् ।
राजमार्गमा लामो समय यात्रा गरेका यात्रु तथा सवारी चालक र कर्मचारीलाई आरामका लागि, शौच गर्न यस्तो विश्राम केन्द्रको योजना अघि सारिएको थियो ।
चालकलाई थकान लाग्दा दुर्घटना बढेको, यात्रुलाई सहज बनाउने, जथाभाबी शौच गर्ने हुँदा फोहोर बढेकाले राजमार्गलाई सरसफाइ सरसफाइ गर्ने गरी यी योजना सुरु भएका थिए ।
तत्कालीन सरकारले पश्चिम नवलपरासीको बर्दघाट, रुपन्देहीको सैनामैना, कपिलवस्तुको चन्द्रौटा, दाङको लमही र बर्दियामा अत्याधुनिक सुविधासहितका रिफे्रस सेन्टर बनाउने योजना घोषणा गरेको थियो ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले २०७७ सालमा सुरु गरेको हो । तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले यसको शुभारम्भ गर्दै पाँचै जिल्लामा बनेका यी सेन्टरले प्रदेशको पहिचान बनाउने घोषणा गर्नुभएको थियो । उहाँपछि तीन वटा मुख्यमन्त्री फेरिए पनि यी योजना अहिलेसम्म पूरा भएका छैनन् ।
पहिलो चरणमा २०७७ मङ्सिर १२ गते रुपन्देहीको सैनमैनाको पिपल डाँडा ३ करोड ५५ लाख ७९ हजारको ठेक्का योजना तत्कालीन मुख्यमन्त्री पोखरेलले शुभारम्भ गर्नुभएको थियो ।
सैनामैना–९ पिपल डाँडा (सालझण्डी नजिक) करिब एक बिगाहा क्षेत्रफलमा बनेको यो स्मार्ट रिफ्रेस सेन्टर पहिलो चरणको भौतिक काम सकिए पनि दोस्रो चरणको लागि कुनै बजेट पनि छैन । सहरी विकास मन्त्रालय अन्तर्गत रहेको यो आयोजनाका इन्जिनियर आदित्य धितालले पहिलो चरणको ठेक्काको काम सकिएर भुक्तानीको काम सकिएको तर दोस्रो चरणको लागि बजेट नभएको बताउनुभयो ।
दोस्रो चरणमा फोहोर व्यवस्थापन, पार्क निर्माण, चार्जिङ स्टेसन बनाउने योजनामा छ तर बजेट छैन । आयोजनाले यसको सुरक्षाका लागि स्थानीय सरकारलाई पहिलो चरणको काम सकेर अपूरो रूपमै हस्तान्तरण गर्न लागेको धितालले बताउनुभयो । “बजेट छैन, अब यसको सुरक्षाको कुरा हुन्छ, पहिलो चरणको काम सकाएपछि स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारीमा छौँ, सायद मन्त्रालयले यसको कार्यविधि बनाउँदै होला”, उहाँले भन्नुभयो ।
लामो दुरीका सवारी चालक र यात्रुलाई विश्राम र आरामका लागि महत्त्वपूर्ण हुने यस्ता आयोजनाको ढिलाइले सबैतिर आलोचना बढेको छ ।
स्मार्ट रिफ्रेस सेन्टरमा स्मार्ट रेस्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ स्थल, सिटिङ एरिया, पाथ वे, रोड एरिया, कार वासिङ, चार्जिङ स्टेसन र ड्राइभर रुम लगायतका संरचना रहने योजनामा छ ।
रिफ्रेस सेन्टर नहुँदा चालक निदाउँदा दुर्घटना हुनुका साथै यात्रुले जथाभाबी दिशा पिसाब गर्ने भएका कारण राजमार्ग वरपरका क्षेत्र दुर्गन्धित बनेका थिए । रिफ्रेस सेन्टर सञ्चालनमा आएपछि राजमार्गमा हुने दुर्घटना समेत न्यूनीकरण हुने सुझाव ट्राफिक प्रहरी लगायत सबै क्षेत्रबाट आएपछि यो योजना सुरु भएको थियो ।
पश्चिम नवलपरासीको बर्दघाटमा निर्माणाधीन अवस्थामा रहेको रिफ्रेस सेन्टर तीन वर्ष बितिसक्न लाग्दा सम्पन्न भएको छैन । पहिलो पटकको सम्झौताको म्याद सकिए पनि चरणबद्ध रूपमा सुरु गरिएको बहुवर्षीय आयोजनाको पहिलो चरणको काम नसकिएको अवस्था छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित पूर्वपश्चिम राजमार्गदेखि ३ सय मिटर तल पारिजात सामुदायिक बन हाताभित्र बनिरहेको उक्त रिफ्रेस सेन्टर निर्माणमा चरम ढिलाइ भएको छ ।
२०७७ चैत ११ गते सम्झौता भई कोजु इन्जिनियरिङ सञ्जय जेभी काठमाडौँले ३ करोड १८ लाख २६ हजार ६१९ रुपैयाँमा निर्माणको जिम्मा लिएको थियो । सम्झौताअनुसार २०७९ असोज ११ मा पहिलो फेजको निर्माण कार्य सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै समयमै काम सम्पन्न गर्न सकेन ।
नक्सा डिजाइन र भौगोलिक अवस्थाका कारण क्वान्टिटी मिलाउनुपर्ने भएकाले पुनः भेरिएसनका लागि लुम्बिनी प्रदेश मन्त्रालयमा पठाइएको खानेपानी तथा सडक डिभिजन कार्यालय रुपन्देहीका इन्जिनियर आदित्य धितालले बताउनुभयो । नवलपरासीको पनि यही कार्यालयमार्फत योजना हेर्ने जिम्मेवारी छ ।
कार्यालय प्रमुख आबिद हुसेन मिया ठकुराइका अनुसार बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको हो । प्रदेश सरकारसँग थप बजेट माग भएको उहाँले बताउनुभयो ।
दोस्रो पटकको म्याद थप अनुसार २०८० भदौ ३० गते सम्पन्न गर्नुपर्ने भए पनि आधा काम पनि सकिएको छैन ।
कपिलवस्तुको चन्द्रौटामा निर्माणाधीन रिफ्रेस सेन्टर पनि पूरा भएको छैन । आयोजनाका अनुसार पहिलो चरणको ठेक्काअनुसार निर्माणका धेरै काम सकिए पनि लाइट फिटिङलगायतका केही काम बाँकी रहेको छ । तर दोस्रो चरणका लागि यहाँ पनि बजेट आएको छैन ।
आयोजनाका अनुसार पहिलो चरणको ४ करोड २ लाख ६७ हजार ६६१ रुपैयाँको ठेक्कामा ३ करोड ५५ लाख ६५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।
दाङको लमहीमा ठेक्का भएर काम सुरु गर्ने समयमा सो क्षेत्र बनको जग्गा भन्दै स्थानीयले विवाद गरेपछि काम रोकिएको छ । पहिले स्थानीय अजम्बरी सामुदायिक बन क्षेत्रमा बनाउने सहमति भए पनि पछि विवादका कारण रोकिएको हो ।
सहरी विकास मन्त्रालयका महाशाखा प्रमुख गुणानिधि पोखरेलका अनुसार सरकारले सुरु गरेका ५ योजना मध्ये सैनामैना, चन्द्रौटामा पहिलो चरणको काम सकिएको, बर्दघाटमा पनि पहिलो चरणको धेरै काम भएको, दाङको लमहीमा ठेक्का भएपछि जग्गा विवादले रोकिएको र बर्दियामा जग्गा व्यवस्थापन नभएकाले सुरु नै नभएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ