शनिबार, बैशाख १, २०८१

हिमालमा पदमचाल फुल्दा…..


कान्तिपथ


फुङ्लिङ (ताप्लेजुङ) । यतिखेर उच्च हिमाली क्षेत्रमा विभिन्न प्रजातिका फूल ढकमक्क हुँदा वातावरणलाई आकर्षित पारेको छ । गहनाले दुलही सजिएजस्तै हिमाली क्षेत्रमा फूलका गुच्छाले ढकमक्क हुँदा  घुमघाम गर्नेलाई मोहित बनाएको छ । 

उच्च हिमाली क्षेत्रमा फूलहरूको रानी पदमचाल (केन्जो) फूललाई लिन सकिन्छ । केन्जो फूल झट्ट देख्दा मानसपटलमा काठमाडौँमा नयाँ बनेको धरहराको झल्को आउँछ । धरहराजस्तै सेतो रङ र बनावट पनि उस्तै देखिन्छ । हिमाली क्षेत्रमा उच्च डाँडा तथा पहरामा सेताम्य भएर केन्जो फूलले जो–कोहीलाई पनि लोभ्याउँछ । 

केन्जो अर्थात् पदमचाल दुर्लभ प्रजातिको फूल हो ।  अग्लो र सेतो हुने यो फूल निकै सुन्दर हुन्छ । डाँडैभरि टावरझैँ फुलेको हुन्छ केन्जो । लेकाली चौर र अग्ला डाँडा निकै आकर्षक देखिने गरी फुलेको भेटिन्छ । केन्जो औषधि पनि हो । पहाडमा बाक्लो गरी देखिने केन्जो लामो क्षेत्रसम्म फैलिएको छ । 

फरक किसिमको फूल भएकाले आकर्षक देखिन्छ । यो कमै ठाउँमा पाइन्छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यक्रम सहायक जितेन चेम्जोङले  मिक्वाखोला गाउँपालिका–५ का लोदेन र तोक्पेगोला तथा फक्ताङलुङ गाउँपालिका–७ सिङजेमा, देउमा र माउमा क्षेत्रमा केन्जो कमै पाइने बताउनुभयो । सिदिङवा गाउँपालिका–७ तिम्बुपोखरी पनि क्षेत्र केन्जो पाइने एक ठाउँ हो ।

वनस्पति विभागका अनुसार जैविक औषधिको महत्वसमेत बोकेको यो वनस्पति आकर्षक भएकाले नै चर्चित छ । यस क्षेत्रका घरमा केन्जोको तस्बिर फ्रेममा झुन्डिएको देख्न पाइन्छ । होटलमा पनि राखेको देख्न पाइन्छ । यसको व्याख्या पहिलो पल्ट ब्रिटिस बोटानिस्ट सर जोसेफ टाल्टन हुकरले गरेको भेटिन्छ । उहाँले ‘हिमालयन जर्नल्स नोट्स अफ न्याचुरलिस्ट’मा व्याख्या गरेका छन् । सन् १८४९ तिर सिक्किमको लाछेन उपत्यकामा यो वनस्पति देखेको लेखेका पाइन्छ ।

“पदमचाललाई मैले पहिलोपल्ट एक माइल टाढाबाट देखेँ । लाछेन उपत्यकाको १४ हजार फिट उचाइमा अवस्थित कालो पहाडलाई यसले अत्यन्त सुन्दर बनाएको थियो । अप्ठ्यारा ठाउँमा थिए । तीन फिट जति अग्लो यस वनस्पति पिरामिड टावरको रूपमा ठिङ्ग उभिएको थियो”, उहाँले लेखेका छन् ।

वनस्पति विभागका अनुसार नेपाल, भारत र भुटानमा यो वनस्पति भेटिएको छ । वनस्पति विभागका अनुसार पदमचाललाई एक किसिमको जडीबुटी हो । आयुर्वेदमा यसलाई निकै महत्वका साथ लिइन्छ । संस्कृतमा यसलाई रेवाचिनी, अम्लसार, बेतसाम्ल, फलाम्ले, गन्धिनी भनेर पनि चिनिन्छ । पोलिगोनेसी वनस्पति परिवारभित्र पर्दछ । 

नेपालको तीन हजार मिटरदेखि चार हजार मिटरसम्मको हिमाली भेगमा पदमचालका बिरुवा आफैँ उम्रिएका हुन्छन् । व्यावसायिक खेती भने हालसम्म भएको देखिँदैन । स्थानीयले विभिन्न औषधिका रूपमा प्रयोग गर्दै आएका वनस्पति विभागले जनाएको छ । बोटलाई अचारका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

हिमाली भेगको फिरफिरे, ठिङ्ग्रे वा गोब्रे सल्ला इत्यादि भएका जङ्गलको छेउछाउ, थुम्का, खुला ठाउँ र ढुङ्गाको अन्तरमा हुर्किन्छ । एकदेखि दुई मिटरसम्म अग्लो हुने पदमचाल जरा र जमिनमुनि रहने कान्ड कसिएको गठिलो हुने गरेको मिक्वाखोला गाउँपालिका–५ तोक्पोगालाका स्थानीय तेन्जिङ शेर्पाले बताउनुभयो । 

उहाँका अनुसार बाहिरी भाग चाउरी परेको हुन्छ । यसबाट सुगन्धित बास पनि आउँछ । स्वाद भने पिरो, टर्रो र केही मात्रामा अमिलो पनि हुन्छ । जमिनबाटै पलाइआएका लामा डाँठ भएका यसका पात ३० सेन्टिमिटर चौडा हुन्छन् । बिरुवाका माथिल्लो भागमा तल्ला पातहरूको दाँजोमा साना हुन्छन् । यसको फूल साना र राता हुन्छन् । एउटै फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन् । यसलाई जडीबुटी सङ्कलनकर्ताले  जरा किनेर भारत, चीनलगायतका मुलुकमा निर्यात गर्ने गरेका छन् ।

खेती कस्तो ठाउँमा उपयुक्त हुन्छ ? 

कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत आर्दश क्षेत्रीका अनुसार पदमचालको औषधीय गुण धेरै हुने भएकाले यो अति महत्त्वपूर्ण बिरुवा हो । 

व्यावसायिक रूपमा लगाएर आर्थिक लाभ लिन सकिन्छ । बिरुवा काण्डका टुक्राहरूबाट अथवा बीउबाट उमारिन्छ । बिरुवालाई वसन्त ऋतुमा सार्नुपर्दछ । एक दशमलव पाँच मिटर दूरीमा रहेको खाल्डोमा मलजल गरेपछि मात्र यो बिरुवा सार्ने कार्य हुन्छ । पदमचालका फूल साना र रातो रङको हुन्छ । 

पदमचाल विशेषतः नेपालको हिमाली भेग दोलखा, गोरखा, लमजुङ, म्याग्दी, हुम्ला, बाजुरा, जुम्ला, पर्वत, रुकुम, बागलुङलगायतका जिल्लामा पाउने संरक्षण अधिकृत क्षेत्रीले बताउनुभयो । 

उहाँका अनुसार कब्जियत, पखाला लागेको, ज्वरो आएको अवस्थामा पदमचालको प्रयोग गर्न सकिन्छ । त्यस्तै, शरीरमा जलन भए यसको रस जुसका रूपमा पिउँदा शरीरलाई शीतलता प्रदान गर्छ । डाँठलाई सुकाएर जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । खाना अपच भएको अवस्थामा एक गिलास पानीमा यसको सुकाएको धुलो एक चम्चा मिसाएर खाँदा यसले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ । शरीरको कुनै भाग सुन्निएको, मर्केको, भाँचिएको अवस्थामा पदमचालको जरा कुटेर गाईको गहुँतसँग मिसाइ लगाउनाले फाइदा गर्दछ । साथै पदमचालको पात, डाँठ, फूललाई अचार तथा तरकारीमा पनि प्रयोग गरिन्छ ।

वन विभागले दिएको तथ्याङ्कअनुसार नेपालमा हाल वार्षिक चार हजार आठ सय ३५ मेट्रिक टन जडीबुटी उत्पादन हुँदै आएको छ । यस्तै विभागले सतुवा, लौठसल्ला, अतिसलगायत ३० प्रजातिका जडीबुटीलाई अध्ययन, अनुसन्धान र खेती विस्तार गराउँदै आएको छ । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत