काठमाडौँ। नेयमार जुनियर अब साउदीको क्लव अल हिलालका खेलाडी भएका छन्। साउदी फुटबलका समर्थकका लागि त यो असाध्यै राम्रो समाचार भयो। उनी जत्तिको खेलाडी पाउनु पनि कम्तीको उपलब्धी होइन् । तर पूरा घटनाक्रमलाई अर्को दृष्टिकोणले पनि हेर्न सकिन्छ ।
त्यसो भनेको नेयमारको युरोपको माथिल्लो स्तरको फुटबल खेल्ने सम्भावना पनि समाप्त भएको छ । कुनै समय उनलाई लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोपछिको सबैभन्दा ठूलो स्टार मानिन्थ्यो । केही सिजन उनी बेलन डे’अर उपाधिका लागि प्रत्यासी पनि बने । तर नेयमारले न त मेसी र रोनाल्डोको जत्तिको ख्याति कमाए, न त सफलता चुम्न सके ।
नेयमारको साउदी यात्रालाई केहीले उनको खेल जीवन अवसानको सुरुआतका रूपमा पनि मानेका छन् । यो पक्कै पनि प्रगति होइन् । त्यसो त अल हिलालले उनलाई आठ करोड डलर जति तिरेको छ । यो ठूलै रकम हो । तीस वर्ष माथिका खेलाडी भएर पनि उनले रोनाल्डो र ह्यारी केनपछि बढी मूल्य पाएका छन् ।
तर पक्कै पनि उनी त्यस्तो खेलाडी रहेनन्, जस्तो उनी बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) आउँदा थिए । त्यति बेला नेयमार विश्व कीर्तिमानमा पेरिस गएका थिए, त्यो भनेको २२ करोड डलर भन्दा पनि बढी । तर उनले त्यो मूल्य अनुसार पेरिसमा खेल्न भने सकेनन्, त्यसै कारण मेसी र रोनाल्डोको छायाँमै परिरहे ।
विश्व फुटबलले नेयमारलाई त्यस्तो खेलाडीका रूपमा सम्झने छन्, जसले नाम र दाम त कमाए, तर मैदानमा त्यसै अनुसार आपूmलाई प्रमाणित भने गर्न सकेनन् । क्लब फुटबलमा मात्र होइन्, उनले ब्राजिलकै लागि पनि त खासै केही गर्न सकेनन् । यस्तोमा यो भनाइ पनि ठीकै हो, नेयमारको खेल जीवन ओरालो लाग्ने दिन अब सुरु भएका छन् ।