शनिबार, अशोज १३, २०८०

हट्याे संसदकाे अवराेध


कान्तिपथ


काठमाडाैं । राजनीतिक दलहरूबीच सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएपछि आजदेखि संसदको अवरोध हटेको छ । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूबीच आज दुई बुँदे सहमति भएपछि झण्डै १ महिनादेखि अवरुद्ध हुँदै आएको संसद बैठक आजदेखि सुचारु भएको हो । 

संसद बैठकमा दलहरूबीच भएको सहमतिबारे जानकारी गराउनुहुँदै उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले सहमतिले देश र जनताको हितमा दलहरूलाई सहकार्य र एकताका साथ अगाडि बढ्ने ढोका खोलेको बताउनुभयो । 

उप–प्रधानमन्त्री खड्काले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न दलहरूबीच भएको सहमतिले संसद र सरकारप्रति जनताको विश्वास बढाउने पति बताउनुभयो । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन २ गते त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा तस्करीको सुन पक्राउ परेको घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै साउन १० देखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको थियो ।  

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदहरूले देशका विभिन्न भागमा बाढी पहिरोबाट प्रभावित नागरिकको उद्धार राहत र पुनर्स्थापना लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सडक दुर्घटनामा बर्सेनि सयौँ नेपालीको ज्यान जाने गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुहुँदै सांसदहरूले सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्नसमेत माग गर्नुभयो । 

यस्तै पशु चौपायामा देखिएको लम्पीस्किन महामारी नियन्त्रणका लागि आवश्यक बजेट उपलब्ध गराई सरकारी संयन्त्रहरूलाई प्रभावकारी बनाउन, लम्पीस्किन विरुद्धको खोप निःशुल्क रूपमा उपलब्ध गराउन तथा किसानलाई आवश्यक क्षतिपूर्ति र राहत उपलब्ध गराउन पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा सांसदहरूले धरानमा गोरुको मासुको सामूहिक भोज गरिएको भनी सामाजिक सञ्जालमा राखिएका सामग्रीले सामाजिक सद्भाव भड्किन सक्नेतर्फ सचेत रहन सरकारको ध्यानाकर्षण गराउनुभयो ।  बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्य अवधि थप गर्ने सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषदको निर्णय पेस गर्नुभयो । 

यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले पेस गर्नुभएको राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।  

प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत