काठमाडौँ I सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई नियमन गर्ने गरी कानुन बनाउन सरकार लागि परेको बताउनुभएको छ ।
मिडिया एड्भोकेसी ग्रुपले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष भएता पनि व्यक्तिको सामाजिक प्रतिष्ठामा आँच पुर्याउने गरी अभिव्यक्ति दिन नपाइने बताउनुभयो ।
कार्यक्रममा सूचना विज्ञ एवं पूर्व डिआइजी डा राजिव सुब्बाले नेपालमा सामाजिक सञ्जाललाई नियमन गर्न कानुन आवश्यक भएको बताउनुभयो ।
यस अवसरमा मिडिया एड्भोकेसी ग्रुपले महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था अध्ययन सार्वजनिक गरेको छ ।
अध्ययन अनुसार ८८ दशमलव ६ प्रतिशत पत्रकार महिलाले अनलाइन हिंसा भोगेको बताएका छन् ।
त्यसमध्ये ४२ दशमलव ३ प्रतिशत पत्रकार महिलाले कार्यालयभित्रका सहकर्मीबाट हिंसा भोग्ने गरेको अध्ययनले देखाएको छ ।
सबैभन्दा बढी ६२ दशमलव ३ प्रतिशत महिला पत्रकारले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट हिंसा भोगेको अध्ययनले देखाएको छ ।
त्यस्तै गरी सामाजिक सञ्जालहरू ह्वाड्टसअप, ट्विटर, फेसबुक, इस्टाग्रामलगायतबाट हिंसा हुने गरेको पाइएको छ ।