ललिता निवास जग्गा घोटाला प्रकरणको अनुसन्धान प्रतिवेदन यतिबेला सरकारी वकिलको कार्यालय काठमाडौँमा छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का ४ प्रहरी नायव उपरीक्षक (डीएसपी)ले अनुसन्धान सम्पन्न गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइएको हो ।
अनुसन्धानमा डीएसपीहरु रुगम बहादुर कुँवर, दुर्गा प्रसाद दाहाल, मदनजित महरा र जीवन निरौला संलग्न थिए । समरजंग कम्पनीका कार्यालय प्रमुख मुकुन्द प्रसाद पन्तको जाहेरी सूचनामा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो ।
अनुन्धान प्रतिवेदन अध्ययनपछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्नेछ। ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा बालुवाटारको जग्गा हिनामिनामा संलग्न २३८ जना विरुद्ध संगठित किर्ते मुद्दा चलाउन राय दिएको छ ।
‘प्रतिवादीहरुले संगठित अपराधमा प्रत्येक सदस्यहरुले आ–आफ्नो भूमिका निर्वाह गरी एकापसमा सम्पर्कमा रही योजनावद्ध रुपमा प्रस्तुत कसूर गरे गराएको पाइन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक लाभको प्राप्तिको लागि संगठित रुपमा बदनियतका साथ आपराधिक समूहको संजाल समेत बिस्तार गरी कसूर गर्ने योजना तयार गरेको,संगठित रुपमा काम गरेको बृहत्तर योजनाको कार्यान्वयन गरी २०४२ देखी २०७० वैशाख २७ गते तथा त्यसपछिका मितिहरुमा समेत निरन्तर संगठित अपराध गरेको र उक्त कार्यबाट नेपाल सरकारको नाममा रहेको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम सरकारी जग्गा हानी नोक्सानी भई ब्यक्ति विशेष तथा श्री पशुपति टिकिन्छा गुठीको नाममा दर्ता कायम भई उक्त कार्यबाट कसूरमा संलग्न प्रतिवादीहरुलाई आपराधिक लाभ प्राप्त भएको स्पष्ट भएको छ ।’
प्रतिवादीहरुले एक आपसमा मिलेमतो गरी संगठित तवरबाट किर्ते र फरक व्यहोराको तथ्यांक प्रस्तुत गरी जग्गा हिनामिनाका साथै सरकारी छाप दस्तखत किर्ते र संगठित अपराध समेतको कसूर गरेको पुष्टि हुने सीआईबीको अनुसन्धान निष्कर्ष छ ।