नाबालिग बलात्कारको अभियुक्त लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि पुनः सुनुवाइ हुने भएको छ। यसअघि साउन ३२ गतेदेखि निरन्तर सुनुवाई हुने भनिएपनि पीडितकी आमाको समेत दुईवटा जन्मदर्ता देखिएको भन्दै अदालतले उनको जन्ममिति यकिन गर्न आदेश गरेको थियो।
त्यसको १० दिनमा मुद्दाको पुनः सनुवाइ हुने भएको हो। अघिल्लो सुनुवाइमा सन्दीपले अदालतमा पेस गरेको पीडितको जन्म दर्ताको वैधानिकतामाथि प्रश्न उठेको छ।
सन्दीप आफैंले पेस गरेको जन्मदर्ता कहाँबाट आयो भन्ने कुरा उनी आफैंलाई थाहा नभएको बताएका थिए। फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।
वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।