आठ वर्षपछि आजबाट सिन्धुपाल्चोकको तातोपानी नाका सर्वसाधारणको लागि खुला भएको छ। चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबार बिहानदेखि सर्वसाधारणको लागि खुला भएको हो।
भोटेकोशी गाउँपालिका–२ स्थित सीमा क्षेत्रबाट सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटासहितका ३० जना स्थानीयले चिनियाँ क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार बिहानबाट तातोपानी नाका खुला गरिएको हो।
नाका खुला भएसँगै लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका स्थानीय बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ प्रस्थान गरे। त्यसक्रममा सांसद सापकोटा आफैं पनि मितेरी पुल तरेर चीनतर्फ प्रस्थान गरेका थिए।
सांसद सापकोटासहितको टोलिलाई चिनियाँहरुले भव्य स्वागत गरेका छन्। विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएको थियो। भूकम्पपछि ०७६ साल फागुनमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द भएको थियो ।