नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले सञ्चालन गरेको कन्या विद्यालयमा छात्राको आकर्षण बढ्दै गएको छ । विपन्न बालबालिकालाई लक्षित गरी सञ्चालन गरेको विद्यालयमा पछिल्लो समय छात्राहरूको भर्ना सङ्ख्या बढ्दै गएको हो । छात्राहरूलाई घरधन्दामा मात्र सीमित गर्दे आएका जानकी गाउँपालिका क्षेत्रका समुदायले कन्या विद्यालय सञ्चालनमा आएसँगै आफैँले छात्रा भर्ना अभियानलाई तीव्रता दिएका छन् ।
जानकी गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि पालिकामा पहिलोपटक छात्राहरूका लागि कन्या विद्यालय सञ्चालन गरेको हो । पालिकाले वडा नम्बर ३ मानपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई कन्या विद्यालयका रुपमा अघि बढाएको थियो । मधेशी र मुस्लिम समुदायको बाहुल्यता भएको जानकी गाउँपालिकाले छात्राहरूका लागि मात्रै यो वर्षदेखि कक्षा ६ सम्म अध्यापन सुरु गरेको हो । विद्यालय सञ्चालनको पहिलो वर्ष नै छात्राहरूको आकर्षण बढेको पाइएको छ । विद्यालयमा छात्राहरूको आकर्षण सोचे भन्दा राम्रो भएको नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक मालतीकुमारी शाहीले बताउनुभयो । विद्यालयमा छात्र भन्दा छात्राहरू मात्रै पढ्दा पनि पहिलाको भन्दा अहिले सङ्ख्या बढ्दो स्थितिमा रहेको समेत प्रधानाध्यापक शाहीको भनाई छ ।
कन्या विद्यालय सञ्चालनपछि अभिभावकहरू पनि खुशी देखिन्छन् । पढ्नको लागि छोरीहरूलाई जति बढी सुविधा भए त्यति राम्रो हुने अभिभावकहरू बताउँछन् । छोरीहरूले पढ्ने विद्यालयमा पढाउने शिक्षक पनि महिला नै रहेका कारण अभिभावकहरू अझ बढी खुशी देखिन्छन् । सुरक्षित, भयरहित र महिलामैत्री विद्यालय स्थापना गर्ने गरी कन्या विद्यालय सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताउनुभयो । गाउँपालिकाले एउटा आफ्नो प्रोजेक्टको रुपमा यो विद्यालय सञ्चालनमा ल्याएको बताउँदै उहाँले २०८४ सालसम्ममा कक्षा १० सम्म पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
छोरीहरू शिक्षाबाट बञ्चित नहोउन् भनेर सबैको पहुँच र राम्रो सुरक्षित वातावरणको लागि कन्या विद्यालय सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताउनुभयो । पालिकाले विद्यालयमा छात्राहरूका लागि निःशुल्क शिक्षासहित शैक्षिक सामग्री, पोशाक र आउन जानका लागि निःशुल्क यातायातको पनि व्यवस्था गरेको अध्यक्ष खाँले बताउनुभयो । उक्त विद्यालयमा पालिकाका ६ वटै वडाका छात्राहरूलाई समावेश गर्ने गरी पालिकाले यातायातको व्यवस्था गरेको छ ।
विशेषगरी मधेशी तथा मुस्लिम समुदायको लागि कन्या विद्यालय नहुँदा छोरीहरूको उमेर बढ्दै जाँदा विद्यालय नपठाउने गरिएको छ । जसका कारण जानकी गाउँपालिकाले यही शैक्षिक सत्रदेखि कन्या विद्यालय सञ्चालन गरेको थियो ।