काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गए राति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको छ।
टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो धारिलाे हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको थियो। सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको हत्या भएको छ।
हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ। राय मृतक नविनका साथी रहेको प्रारम्भिकरुपमा खुल्न आएको प्रहरीले जनाएको छ। उनी शरीरमा रगत लागेको अवस्थामा ट्याक्सी चढेर आफैँ प्रहरीमा आएको एक अनुसन्धान अधिकृतले बताएका छन्।
वीभत्सरुपमा गरिएको हत्याको कारण खुलिसकेको छैन। प्रहरीले यस घटनामा काविल अनुसन्धान अधिकृत र तालिमप्राप्त कुकुर परिचालन गरेको छ भने सबै नाकामा निगरानी बढाएको छ। हत्याको यकिन कारण अझै पत्ता लाग्न सकेको छैन। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा घटना अनुसन्धानकै चरणमा रहेकाले सबै कोणबाट अनुसन्धान गरिरहेको बताउँछन्।
घटनाको प्रकृति हेर्दा सामान्य मानिसको हत्या भएकाले ठूलो गिरोह तथा कुनै ठूलो आर्थिक लाभका लागि नभएको निष्कर्ष प्रहरीको छ। यद्यपि यस्ता सामान्य मानिसको हत्या पछिल्ला समयमा देखिँदै आएको छ। काठमाडौँको मुटु त्यस माथि तिनकुने प्रहरी चौकी नजिकै यस्तो घटना हुनुले सुरक्षा संवेदनशिलता कमजोर देखिएको छ ।
उक्त घटना अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा संयुक्त अनुसन्धान टोली बनाइएको हो।
टोलीमा काठमाडौं परिसरका डीएसपी हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसी, बानेश्वर बृत्तका प्रहरी इन्सपेक्टर विरेन्द्र केसी रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।
प्रहरीको तथ्याङ्कमा आर्थिक वर्ष २०७/र८० मा पाँच सय एक जनाको हत्या भएको छ। जसमा ३८ वटा घटना काठमाडौँ उपत्यका भएका थिए। कूल नौ सय ८२ वटा व्यक्ति हत्या प्रयासका घटना भएको छ। त्यसमध्ये ज्यान मार्ने उद्योगका एक सय ३६ घटना काठमाडौंमा भएका पाइएको छ।
त्यसको अघिल्लो वर्ष आव २०७८/७९ मा पाँच सय ९० वटा व्यक्ति हत्याका घटना भएको छ। त्यसमा सबैभन्दा बढी धारिलो हतियार प्रहार गरेर भएको छ। काठमाडौँमा मात्रै ५० वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ज्यान मार्ने उद्योगतर्फ एक हजार ७९ घटनामध्ये उपत्यकामा मात्रै एक सय ३६ घटना भएको पाइएको छ।
काठमाडौँमा देखिएको यो सुरक्षा खतरा यति मै सिमित छैन । भदौ २० गते नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको थियो। भृकुटिमण्डपमा आयोजित कार्यक्रमबाट फर्किने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो। कांग्रेस नेता यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्याम सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ