सोमवार, मंसिर १८, २०८०

सहिद महेन्द्र श्रेष्ठको २५ औं स्मृति दिवस सम्पन्न


कान्तिपथ


जनयुद्धका महान शहिद महेन्द्र श्रेष्ठको २५ औँ स्मृति दिवस सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । शहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेसनको आयोजनामा एक औपचारिक कार्यक्रम गरि सहिद तथा बेपत्ता योद्धालाई अभिनन्दन गर्दै स्मृति दिवस मनाइएको हो ।

२०५५ असोज ४ गते सहादत प्राप्त गर्नु भएका जनयुद्ध शहिद महेन्द्र श्रेष्ठकी पत्नि निर्मला श्रेष्ठको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सचिव राम कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन), नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, माओवादी केन्द्रका केन्द्रिय सदस्यद्वय महेश्वर दाहाल र दिलिप प्रजापति, माओवादी केन्द्रका प्रवास समन्वय समिति सचिवालय सदस्य कमल किरण कार्की तथा बागमती प्रदेश सांसद सुष्पा भुजेल, फाउन्डेसनका अध्यक्ष सन्दिप पुनलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रिय सचिव राम कार्कीले शहिदको बलिदानीबाट स्थापित गरिएको व्यवस्था व्यवस्थित गर्न नसकिएको बताए । नेपाल कम्युनिष्ट पार्टीको मुद्धा र एजेण्डालाई माओवादीकै कार्यकर्ताले बिर्सिएको उनको आरोप छ । शहिदले देखाएको बाटो नै परिवर्तन हुन थालेको कार्कीको भनाई छ । माओवादी आन्दोलनले स्थापना गर्न खोजेको मानकलाई शिक्षामा स्थापित गर्न नसकिएको कार्कीले बताए । सांसद राजन दाहालले प्रचण्ड नेतृत्वको सरकारले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको बताउंदै यहि सरकारले जनयुद्धका बाँकी कार्यभार पुरा गर्ने बताए ।

प्रदेश मन्त्री श्रेष्ठले सरकारले सहिद तथा बेपत्ता योद्धाका मुद्धालाई गम्भीरता पुर्वक लिने बताए । मन्त्री श्रेष्ठ सहित जनतासंग माओवादी विशेष रुपान्तरण अभियानका सिन्धुली इन्चार्ज महेश्वर दाहालले सहिद महेन्द्र श्रेष्ठको योगदान र व्यक्तित्वको चर्चा गरेका थिए ।

माओवादीका प्रवास समन्वय समिति सदस्य तथा अधिवक्ता कमल किरण कार्कीले नेपालले शान्ति प्रक्रियाका बाँकी कार्यभारलाई पुरा गर्दै संक्रमणकालिन न्यायलाई निष्कर्षमा पुर्याउनु पर्ने बताए । अमेरिका, अफ्रिका, भारत लगायत देशको उदाहरण दिंदै कार्कीले द्वन्द्वोत्तर समाजमा न्यायका मूल मुद्दाहरु के के हुन सक्दछन् ? विगतमा भएका मानवअधिकारको दुरुपयोग र मानवीय कानूनको उल्लंघनलाई कसरी सम्वोधन गरिनु पर्दछ भन्ने विषयमा प्रकाश पारेका थिए ।

कार्कीले संक्रमणकालीन न्यायलाई सत्यनिरुपण आयोग, पुर्पक्ष र अभियोजन, परिपुरण, परीक्षण छर्नौट र शुद्धिकरण, संस्थागत सुधार र मेलमिलाप लगायतका विधीबाट समाधान गर्न सकिने बताए । सहिद तथा बेपत्ता योद्धाका परिवारलाई राहत, क्षतिपूर्ति, शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्ने बताए । कार्यक्रममा सिन्धुलीका १ सय ६७ शहिद परिवारलाई अभिनन्दन गरिएको शहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेसनका अध्यक्ष सन्दिप पुनले बताए ।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष पुनले हालसम्म फाउन्डेसनले गरेका कार्यहरुको चर्चा गरेका थिए । शहिद महेन्द्र श्रेष्ठको २०५५ सालमा किलोशेरा टु अप्रेसनमा ओखलढुङ्गाबाट गिरफ्तार गरि ९ दिन पछि सिन्धुली र उदयपुरको सिमाना खोक्सामा गोली हानी हत्या गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत