क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दा स्थगित भएको छ। जिल्ला अदालत काठमाडौंले लामिछाने विरुद्धको मुद्दा स्थगितको सूचीमा राखेको हो। आइतबार पेसी हुने भनिए पनि अदालतले स्थगितको २६ नम्बर सूचीमा लामिछानेको मुद्दा राखेको छ।
यसअघि असोज १ गते सोमबार पेसी रहे पनि न्यायाधीश अभावका कारण सुनुवाइ नभएर स्थगित भएको थियो। सन्दीप विरुद्धको बलात्कारको मुद्दामा यसअघि पटक-पटक अन्तिम फैसलाका लागि पेसी तोकिए पनि फैसला नभई सर्दै आएको छ।
असोज १ गते अगाडि सन्दीपको मुद्दामा भदौ २१ गतेका लागि पेसी तोकिएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले पीडित किशोरी (गौशाला २६)को यकिन जन्ममिति जनाउने कागज माग्ने आदेश गरेको थियो।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।
१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ। सन्दीप विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ।