मङ्लबार, माघ ८, २०८१

एमालेको बागमती अधिवेशन आजबाट : यी हुन् दाबेदार


कान्तिपथ


नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ । काठमाडौंको भृकुटी मण्डपमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे गर्ने कार्यक्रम तय छ ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भैसकेको एमाले बागमती प्रदेश अध्यक्ष केशव पाण्डेले बताए । उद्घाटनअघि एमालेले काठमाडौंका ६ ठाउँबाट र्‍याली निकाल्नेछ ।

अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट ११३८ प्रतिनिधि छनोट भएर आइसकेका छन् । यदि ५ प्रतिशत प्रतिनिधि थप भएको अवस्थामा थप २५ जना प्रतिनिधि आजै छनोट हुने जनाइएको छ ।

अधिवेशनको बन्दसत्र भोलिबाट सुरू हुनेछ । सहमतिबाट नेतृत्व चयन हुन नसकेको अवस्थामा विद्युतीय मतदान गराउने तयारी आयोजकको छ ।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्नेछ । प्रदेश अध्यक्षको लागि हालसम्म आधा दर्जन बढी नेताले इच्छा देखाएका छन् ।

हालसम्म अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, पूर्वपोलिटब्युरो सदस्य एवम बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, हालका प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी मुख्य दाबेदार देखिएका छन् । चितवनका नेता कृष्णभक्त पोखरेल, धादिङका भूमि त्रिपाठी र खेम लोहनीको नाम पनि चर्चामा छ ।

अधिवेशनका लागि एमाले प्रदेश कमिटीका अनुसार अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि काठमाडौँका १३२ जना प्रतिनिधि छनोट भएका छन् । त्यसै गरी काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना तथा धादिङबाट ८७, दोलखा ६५, रसुवा २७, सिन्धुपाल्चोक ६४, रामेछाप ८१, नुवाकोट ६४, ललितपुर ५०, भक्तपुर ६६, सिन्धुली ६६ र चितवनबाट ८५ जना प्रतिनिधि छनोट भएका छन् । जनसंगठनबाट ९५ जना प्रतिनिधि छानिएका छन् । बागमती प्रदेशमा एमालेका एक लाख नौ हजार सङ्गठित सदस्य रहेका छन् । एमालेले १२५ सङ्गठित सदस्यमध्ये एक जना प्रतिनिधि छनोट हुने व्यवस्था मिलाएकोमा  दलितको हकमा ५० सङ्गठित सदस्य बराबर एक जना प्रतिनिधि छनोट गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत