नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन यहि अशोज ८ र ९ गते काठमाडौंमा आयोजना गरिएको छ । अधिवेशनका लागि प्रतिनिधि छनौटको काम करिब सकिएको छ । अधिवेशन उद्घाटनको समय तीन दिन मात्र बाँकी रहँदा अहिले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेता कार्यकर्ताको चहल पहल निकै बाक्लिएको छ ।
यसअघि सम्पन्न भएको लुम्बिनी प्रदेश अधिवेशनको नेतृत्व सर्वसम्मत हुन नसकेपछि निर्वाचनबाट टुंगो लागेको थियो । सोही कारण पनि बागमतीमा पनि नेतृत्व सर्वसम्मत नहुने अनुमान गर्न थालिएको छ । अधिवेशनको मिति नजिकिदै गर्दा आकाक्षीहरुको लर्को बढ्दै गएकाले पनि सर्वसम्मतको सम्भावना निकै कम रहेको बताइन्छ । यद्यपी, अन्तिम समयसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने नेताहरुले बताएका छन् ।
अहिले सम्म पाँच पदाधिकारीका लागि डेढ दर्जनभन्दा बढी नेताले आकांक्षा देखाएका छन् । स्रोतका अनुसार, अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल र नुवाकोटका केशव पाण्डेले दावी गरेका छन् । पार्टीको केन्द्रीय सदस्य भएपनि प्रदेश अध्यक्ष बन्नकै लागि ढुंगेल र दाहाल आ आफ्नो जिल्ला भूगोलबाट प्रतिनिधि चयन भएर आएका छन् । पाण्डे भने वर्तमान अध्यक्ष हुन् । उनले अधिवेशनबाट एक कार्यकाल दाहोरिने चाहाना राखेको बुझिएको छ ।
त्यस्तै, उपाध्यक्षका लागि नुवाकोटका नारायण खतिवडा, दोलखाका इश्वरचन्द्र पोखरेल, मकवानपुरका महेश बर्तौला, सिन्धुपाल्चोकका हस्त पण्डित, चितवनका दावा दोर्जे लामा लगायतले आकांक्षा राखेको बताइन्छ । सचिवका लागि सिन्धुपाल्चोकका सुवास कमाचार्य, चितवनका कृष्णभक्त पोखरेल, काठमाडौंकि रत्न गुरुङलगायातले आकांक्षा राखेको बुझिएको छ । त्यस्तै, उपसचिवका लागि सिन्धुलीका खड्ग खत्री, दोलखाका डबल पाण्डे, काभ्रेकि भक्तकुमारी लामा, धादिङका रमेश आचार्यलगायतले दावी गरेको बताइन्छ ।
अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट ११३८ प्रतिनिधि छनोट भएर आइसकेका छन् । यदि ५ प्रतिशत प्रतिनिधि थप भएको अवस्थामा थप २५ जना प्रतिनिधि आजै छनोट हुने जनाइएको छ ।
अधिवेशनको बन्दसत्र भोलिबाट सुरू हुनेछ । सहमतिबाट नेतृत्व चयन हुन नसकेको अवस्थामा विद्युतीय मतदान गराउने तयारी आयोजकको छ ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्नेछ । प्रदेश अध्यक्षको लागि हालसम्म आधा दर्जन बढी नेताले इच्छा देखाएका छन् ।
अधिवेशनका लागि एमाले प्रदेश कमिटीका अनुसार अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि काठमाडौँका १३२ जना प्रतिनिधि छनोट भएका छन् । त्यसै गरी काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना तथा धादिङबाट ८७, दोलखा ६५, रसुवा २७, सिन्धुपाल्चोक ६४, रामेछाप ८१, नुवाकोट ६४, ललितपुर ५०, भक्तपुर ६६, सिन्धुली ६६ र चितवनबाट ८५ जना प्रतिनिधि छनोट भएका छन् । जनसंगठनबाट ९५ जना प्रतिनिधि छानिएका छन् । बागमती प्रदेशमा एमालेका एक लाख नौ हजार सङ्गठित सदस्य रहेका छन् । एमालेले १२५ सङ्गठित सदस्यमध्ये एक जना प्रतिनिधि छनोट हुने व्यवस्था मिलाएकोमा दलितको हकमा ५० सङ्गठित सदस्य बराबर एक जना प्रतिनिधि छनोट गरेको छ ।