बिहिबार, मंसिर २१, २०८०

छाया सेन्टर विवाद ९ वर्षदेखि थन्केको थन्क्यै !


कान्तिपथ


काठमाडौंको ठमेलस्थित कमलपोखरी (छायादेवी कम्प्लेक्स) सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएकाले भत्काउनुपर्ने माग गर्दै सर्वोच्चमा पुगेको विवाद ३६औं पेसीमा पनि अन्तिम सुनुवाइ हुन सकेन। आइतबार उक्त मुद्दा न्यायाधीशद्वय शुष्मालता माथेमा र मनोज शर्माको इजलासमा पेसी परेको थियो। तर हेर्न नमिल्ने भएपछि स्थगित भएको छ।

यो मुद्दा ९ वर्षमा २९ पटक हेर्न नमिल्ने, नभ्याउने र स्थगित हुने हुँदै सर्दै आएको छ। यो विवाद २०७१ वैशाख ३० गते सर्वोच्च अदालत पुगेको थियो। तर यो अवधिमा पेसी चढ्ने अनि सुनुवाइ सर्ने हुँदै आएको छ।

उक्त विवादमा सर्वोच्चमा सार्वजनिक सरोकार, लिखत बदर, गुठी रैतानी बदर, नक्सा पास बदर र लिखत धितो समेत बदर माग गर्दै दायर भएका मुद्दा छन्। सर्वोच्चमा यो विवाद सम्बन्धी १५ थान मुद्दा रहेका छन्।

अधिवक्ता दीपक मिश्र र रामहरि श्रेष्ठ समेतले २०७१ वैशाख र असोजमा मुद्दा दायर गरेका थिए। त्यस्तै यही विवादमा गुठी लिखत बदर नक्सा बदर माग गर्दै भागवत नरसिंह प्रधानले २०७३ असोज २ गते हालेको मुद्दा सर्वोच्चमा सुनुवाइको पालो पर्खेर बसेको छ। प्रधान वादी रहेको उक्त मुद्दामा छायादेवी कम्प्लेक्स प्रालि सहितलाई विपक्षी बनाइएको छ।

यससँगै प्रतिमा पाँडे र शंकरप्रसाद शाह, काठमाडौं महानगरपालिका, गुठी संस्थान केन्द्रीय कार्यालय विपक्षी छन्। उक्त विवादित जग्गामा सपिङ कम्प्लेक्स बनाउने सुरेसाय हाउजिस कम्पनी प्रालि र अम्बिका राणा विरुद्ध लिखत बदर समेतको मुद्दा रहेको छ।

यो क्षेत्र १५ रोपनी जमिनमा फैलिएको छ। त्यसमध्ये १२ रोपनी जग्गा कुनै बेला सिंह सार्थबाहु गुठीको नामको पोखरी रहेको गुठियार तथा अनुसन्धानकर्ता भागवत नरसिंह प्रधानको दाबी छ। उनले सर्वोच्चमा हालेको मुद्दामा यो जग्गा गुठीको भएकाले व्यावसायिक भवन बनाउनु गैरकानुनी हुने दाबी गरेका छन्।

नेपाल लाईभका अनुसार कित्ता नम्बर १६७ मा रहेको भगवानबहालस्थित छायादेवी कम्प्लेक्स निर्माणदेखि नै विवादमा आएको थियो। मालपोत कार्यालयको रेकर्ड हेर्ने हो भने जग्गामा अहिले पनि सार्वजनिक पोखरी कायम छ।

२०४४ सालमा सरकारले निर्णय गरेर यो पोखरीलाई सार्वजनिक गरेको थियो। त्योभन्दा अगाडि यसको स्वामित्व राणा परिवारको नाममा थियो। केशर शमशेर राणाले गुठीलाई वर्षको १ सय २५ रुपैयाँ तिर्ने गरी १९७७ सालमा पोखरी आफ्नो कम्पाउन्डमा पारेका थिए।

केशर शमशेरको देहावसानपछि उनका छोरा केयुर शमशेरले पोखरी सुकाएर २०२७ सालदेखि धान रोप्न सुरु गरेका थिए। उनले पछि मोही दर्ता गराएका थिए। यो पोखरीमा ठमेल भगवानबहालस्थित विक्रमशील महाविहारमा रहेको सिंह सार्थबाहु भगवानको नाममा थियो। भगवानलाई चढाउन यहीँको कमलको फूल प्रयोग गरिने चलन भएको प्रधानले बताए। महाविहारको संरक्षण प्रधानले गर्दै आएका छन्।

२०३३ सालमा सहरी क्षेत्रको नापी भएको थियो। नापी हुँदा उक्त पोखरी कित्ता नम्बर १ सय ६७ मा परेको हो। उक्त कित्ताको क्षेत्रफल १२ रोपनी १३ आना २ पैसा २ दाम रहेको मालपोत कार्यालयको रेकर्डमा छ। विसं २०३९ जेठ २४ को भूमिसुधार मन्त्रालयको जग्गाधनी पुर्जामा पनि उक्त कित्ता पोखरी नै जनिएको छ। त्यतिबेलाको पुर्जामा जग्गाधनी सिंह सार्थबाहु गुठी लेखिएको छ। गुठी संस्थानमा रहेको २०४२ सालको फिल्डबुकमा पनि पोखरी नै उल्लेख छ।

२०४४ मंसिर २३ गते सरकारले निर्णय गरेर उक्त पोखरी सरकारको नाममा दर्ता भएको थियो। त्यसयता बनेको जग्गाधनी स्रेस्तामा पनि पोखरी नै उल्लेख छ। जग्गाधनीको नाम श्री ५ को सरकार उल्लेख छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत