बिहिबार, मंसिर १४, २०८०

एमाले बागमती चुनाव : गोकुल र महेशको भिडन्त !


कान्तिपथ


नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ । बिहीबारको मितिमा शुक्रवार बिहान प्रकाशित अन्तिम नामावलीमा अध्यक्षका दुईजना मात्र उम्मेदवार मैदानमा छन् । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलमात्र प्रतिस्पर्धामा उत्रेका छन् ।

त्यसैगरी एक उपाध्यक्ष पदका लागि ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी चार जना मैदानमा छन् । प्रदेश सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुने भएको छ । दुई उपसचिवका लागि १० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आज बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि उम्मेदवारको सूची प्रकाशित गर्न ढिला भएपछि अव सम्भवतः ११, १२ बजेपछि मात्र मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीको भनाइ छ ।

एक दिन मतदान रोकेर गरेको छलफलपछि अध्यक्षका तीन उम्मेदवार पछि हटेका छन् । वर्तमान अध्यक्ष केशव पाण्डेले बिहीबार विहानै उम्मेदवारी फिर्ता लिएर अध्यक्षका अर्का उम्मेदवार ढुंगेललाई समर्थन गरेका थिए ।

यस्तै साँझ सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएर अध्यक्षका अर्का उम्मेदवार दाहाललाई समर्थन गरेका छन् ।

अहिलेसम्म बागमतीमा प्रष्ट गुट बनिसकेको छैन । तर यो अधिवेशनपछि जबरजस्त दुई गुट स्थापित हुने निश्चित छ । किनकि, भावी नेतृत्वका लागि पोलिट्ब्युरो सदस्यद्वय गोकुल बास्कोटा र महेश बस्नेतले अघोषितरुपमा आ–आफ्ना उम्मेदवार मैदानमा पठाउँदैछन् ।

काभ्रेका बास्कोटाले आफ्नो समूहबाट अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाललाई मैदानमा उतार्दैछन् । भक्तपुरका बस्नेतले भने अध्यक्षमा रामेछापका कैलाश ढुंगेललाई अघि सारेका छन् । ढुंगेलको समूहबाट उपाध्यक्षमा भने चितवनका दावादोर्जे लामा चुनाव लड्दैछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत