बिहिबार, मंसिर १४, २०८०

कोशीमा १२ बजेबाट मतदान : कुन प्यानलमा को को ?


कान्तिपथ


नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि मध्यान्ह १२ बजेबाट मतदान हुँदैछ । प्रदेश अध्यक्षका लागि मोरङका विनोद ढकाल र घनश्याम खतिवडा मैदानमा छन् । उनीहरूले सचिव र उपसचिवमा प्यानलसहित उम्मेदवार खडा गरेका छन् ।

उपाध्यक्षमा भने टीकाराम चेम्जोङ्गको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्ष चेम्जोङ्गलाई भने दुवै पक्षले आफ्नो प्यानलको दाबी गर्दै आएका छन् । उनी सुरूमा ढकालतिर खुलेका थिए ।

हाल केन्द्रीय सदस्य रहेका ढकाल अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष, मोरङ सचिव हुँदै दुई पटक जिल्ला अध्यक्ष भइसकेका छन् । भूमिगतकालदेखि खटेका खतिवडा पनि पुराना नेताका रूपमा गनिन्छन् । मदन भण्डारीसँगै पार्टीमा हिँडेका उनी मोरङ जिविस सभापति र २०७४ मा मोरङ १ बाट निर्वाचित सांसदसमेत हुन् ।

सचिवमा उदयपुरका शैलेस लामा, पाँचथरका राजकुमार भण्डारी र झापाका हीरा थापाले मनोनयन दर्ता गराएका छन् । उपसचिवमा झापाकी जलवर्ष राजवंशी, संखुवासभाका भविश्वार गुरुङ, मोरङका खेम नेपाली र खोटाङका देवान राईले मनोनयन दर्ता गराएका छन् ।

सचिवमा खतिवडाको प्यानलमा राजकुमार र ढकालको प्यानलमा शैलेस छन् ।

उपसचिवमा जलवर्षा राजवंशी खतिवडा पक्षमा देखिए पनि अन्य तीन उपसचिव खुलेका छैनन् । अहिले पनि आ-आफ्नो प्यानलमा तान्ने र एकजनाको मनोनयन फिर्ता गर्न लगाउने प्रयास जारी छ ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।

सदस्यका लागि भने भूगोलअनुसार मनोनयन दर्ता भएकाले तथ्यांक निकाल्ने काम भइरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत