एमाले गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन निर्वाचनउन्मुख भएको छ । सोमबारदेखि सुरु अधिवेशनको बन्द सत्र मंगलबार सकिएपछि अभिवेशन नयाँ नेतृत्व चयन गर्न निर्वाचनतर्फ उन्मुख भएको हो ।
प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरका अनुसार क्लस्टर नमिलेकाले केही ढिलाइ हुँदा मंगलबार उम्मेदवारको दरखास्त फाराम वितरण मात्र भएको छ । बुधबार उम्मेदवारी दर्ता र निर्वाचनका बाँकी प्रक्रिया अघि बढ्ने उनले बताए । प्रदेश कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र उपसचिव महिला गरी पाँच पदाधिकारीसहित १६२ सदस्यीय कार्यसमिति रहने प्रावधान छ ।
नयाँ नेतृत्वका लागि पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीपक्षबीच भिडन्त हुने देखिएको छ । गुरुङ र अधिकारी पार्टी अध्यक्ष केपी ओलीनिकट भए पनि प्रदेशमा यी दुईबीच गुटको संघर्ष चल्दै आएको छ । जिल्ला पार्टी अधिवेशनका निर्वाचनदेखि स्थानीय, प्रदेश र संघका निर्वाचनमा टिकट वितरणदेखि चुनावी अभियानमा पनि यी दुई नेताबीच संघर्ष देखिँदै आएको छ । यद्यपि, गण्डकीको निर्वाचनमा पार्टी सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्ट, सचिव पद्मा अर्याल र किरण गुरुङको भूमिका पनि महत्वपूर्ण रहेको नेताहरूले बताएका छन् ।
गण्डकीमा उपाध्यक्ष विण्णु पौडेल र पृथ्वीसुब्बा समूहबाट एउटा प्यानल र महासचिव शंकर पोखरेल र खगराज अधिकारी समूहबाट अर्को प्यानलबीच चुनाव हुने पक्काजस्तै भएसकेको छ ।
शंकर समूहबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी अध्यक्ष, उपाध्यक्ष नवलपुरका बाबुराम विक, सचिव कास्कीका रश्मी आचार्य, उपसचिव म्याग्दीमा सन्तोष रावल र कास्कीकी मीना गुरुङलाई उम्मेदवार बनाउने पक्का भइसकेको छ ।
पृथ्वीसुब्बा समूहबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा, उपाध्यक्ष स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिव लमजुङका धनञ्जय दवाडी, उपसचिव पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर विकलाई उम्मेदवार बनाउने टुंगो लागेको छ ।