सशस्त्र प्रहरी बलले पानी प्रशोधन तथा वितरण स्थल सञ्चालनमा ल्याएको छ । संगठनका कर्मचारीलाई स्वच्छ पानी खुवाउने उद्देश्यसहित आफ्नै प्लान्ट स्थापना गरेको हो । यससँगै सशस्त्र प्रहरीले मुख्यालयका लागि पानी खरिद नगर्ने भएको छ ।
प्रशोधन केन्द्रको सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले मंगलबार उद्घाटन गरेका छन् ।
मुख्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई शुद्ध पिउनेपानीको व्यवस्था मिलाउने उद्देश्यले सञ्चालनमा ल्याइएको नवनिर्मित वाटर ट्रिटमेन्ट प्लान्टले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको शुद्ध पिउनेपानी प्रशोधन गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । प्रतिघन्टा १५ सयदेखि दुई हजार लिटरसम्म पानी शुद्ध पार्ने क्षमता रहेको वाटर ट्रिटमेन्ट प्लान्टको मासिक रूपमा दक्ष प्राविधिकबाट परीक्षण हुने जनाइएको छ ।