बिहिबार, मंसिर १४, २०८०

अवकाशमा जान लागेका महासेनानी शाहलाई किन थुन्न खोज्दैछ सेना ?


कान्तिपथ


महासेनानी महेन्द्रजंग शाहलाई मौखिक ताकेताका वावजुद हाजिर हुन नगएपछि लिखित रुपमा छानबिनका लागि बोलाइएको छ । आगामी २८ गते अवकाशमा जान लागेका शाहलाई त्यसअघि नै थुन्ने तयारी गरिएको सैन्य स्रोतको दाबी छ ।

स्रोतका अनुसार, ‘उनलाई थुन्न लागेको आशंका छ । मौखिक रुपमा दुई पटक बोलाइएको थियो । तर, शाहले मौखिक रुपमा बोलाउँदैमा बयानको लागि आउँदिन भनेपछि सेनाले भोलि वा पर्सिसम्म लिखित रुपमा बोलाउने सम्भावना छ।’ पहिलेको जर्नेल प्रेम शाही काण्डमा शाहलाई सैनिक विद्रोहमा संलग्न भएको आरोप लगाएर थन्काइएको थियो ।

अर्को स्रोत भन्छ, ‘यसवीच विभिन्न अनलाइनमा योजनाबद्ध समाचार छापियो । खासगरी राजधानी दैनिकमा अमित प्याकुरेलहरुका नामबाट शाहको जताततै घर र जग्गासँगै धेरै वटी श्रीमती भएको समाचार छपाइयो । त्यही समाचार उद्धृत गर्दै प्राड विवाक (कानुन बिभाग) का अधिकृतहरुले अख्तियारमा उजुर हाले । अहिले त्यही अख्तियारको पत्रलाई आधार मान्दै प्राडले उक्त विषयमा छानबिन गर्न र प्रेम शाहीलाई झैँ आर्थिक विषयमा तान्ने र खोरमा हाल्ने योजना बनाएको हो ।’

महेन्द्र पछिल्ला दिनमा घरबाट कार्यालय पुगे पनि हाजिर गरेर निस्कने गरेका थिए । उनलाई सेनाको पुस्तकालयमा थन्काइएको थियो । उनै शाहले जानकारी लिन बोलाउँदा ‘मौखिक होइन, लिखित’ आदेश चाहियो भनेको बुझिएको छ । त्यसपछि नै उनलाई लिखित रुपमा बोलाउने तयारी भएको जनआस्थाले छापेको छ ।

यता उनै शाहको पदावधि यही असोज २८ गते सकिँदै छ । अवकाशको मितिभन्दा १५ दिनअघि पत्र दिने तयारी छ । म्याद थप्ने हो भने सेनाले बेलैमा सरकारलाई पत्र पठाउनुपर्ने हुन्छ । शाह पदावधि सकिने बित्तिक्कै सर्वोच्चमा जाने विभिन्न घटनाक्रमले पुष्टि गरेको छ । उनै स्रोतका अनुसार शाह पनि प्रेम शाहीजस्तै सर्वोच्च जाने निश्चित छ ।

शाहसँगै लेफ्टिनेन्ट कर्णेल शाम्भराज अर्याल र कुलदीप तिमिल्सिनाबारे पनि छानबिनको तयारी भइरहेको स्रोतको दाबी छ । उपरथी प्रेम शाहीसँगै आर्थिक हिनामिनामा मुछिएको भन्दै शाह र तिमिल्सिनालाई नियन्त्रणमा लिइएको थियो ।

एक सैनिक अधिकारीका अनुसार, त्यतिबेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रभावित पार्न उनीसँग सम्पर्क गरिएको आशंका छ । त्यसैगरी नेपाली कांग्रेस नेता एवं नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग समेत नियमित सम्पर्क भएको आरोपपत्रमा उल्लेख छ । उपरथी प्रेम शाही र प्राड विवाकका महासेनानी महेन्द्रजंग शाहबीच १९ मंसीर २०७९ मा उनले ९ बजेर २१ मिनेट जाँदा सम्पर्क गरेको र मुद्दा नम्बर टिपाएको आरोपपत्रमा समावेश विवरणबाट खुल्छ । २६ मंसीर २०७९ मा पनि त्यसैगरी सम्पर्क हुन्छ र ‘आज मुद्दा छ’ भनी उनले सन्देश प्रवाह गरेको देखिन्छ । तर, कोर्ट अफ इन्क्वायरीमा बयान गर्दै महासेनानी महेन्द्रजंग शाहले ‘गैरसैनिक अड्डा अदालतका बहालवाला पदाधिकारीहरूसँग आफ्नो भेटघाट नभएको’ दाबी गरेका छन् ।

प्राड विवाकका महासेनानी शाहले मुद्दा–मामिलाको क्रममा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई समेत नियमित सम्पर्क गरेको आरोपपत्रमा उल्लेख छ । उनीसँग महासेनानी शाहको फोनमा कुराकानी र पटक–पटक सम्पर्क भएको विवरणबाट देखिन्छ । बयानमा त्यो कुरा स्वीकार्दै शाहले ‘पराजुलीसँग पारिवारिक सम्बन्ध भएको’ र साथसाथै नियमित रूपमा ‘घरमा पनि जान्छु’ भनेर स्वीकारेका छन् । ५ पुस २०७९ मा महासेनानी शाह आफैं सर्वोच्च अदालत गएको आरोपपत्र (कोर्ट अफ इन्क्वायरीको फाइल) मा समावेश छ । जंगी अड्डासम्बद्ध उच्च स्रोतले ‘कतै सोझै सर्वोच्च अदालत गएर उनले चेम्बरमा न्यायाधीश त भेटेका थिएनन् ?’ भनी शंका गर्छन् । उनले बयानमा ‘कानुन पत्रिका लिन अदालत पुगेको’ बताएका छन् । कोर्ट अफ इन्क्वायरीले पनि महासेनानी पदमा रहेको व्यक्ति कानुन पत्रिका लिन आफैं अदालत पुगेकोमा शंका गरेको छ ।

‘पैसाको अफर’

महासेनानी शाहमाथि ९८४१….. को नम्बरबाट न्यायाधीशहरूमाथि नियमित सम्पर्क राखेको आरोप छ । उनले बयानमा ‘कसैले मबाट केही कुराको अपेक्षा राख्नु स्वाभाविक हो’ भनी प्रतिक्रिया दिएका छन् । कोर्ट अफ इन्क्वायरीमा उपरथी प्रेम शाहीमाथि प्राड विवाकमा कार्यरत महासेनानी महेन्द्रजंग शाहमार्फत ‘मुद्दाको लागि पैसा अफर गरेको’ आरोप छ । ९ पुस २०७७ मा दर्ता भएको मुद्दाका बारेमा प्राड विवकमा कार्यरत महासेनानी शाहले ‘श्रीमान् आज छ हजुर’ भनी मुद्दाबारे स्मरण गराएको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि महासेनानी शाह र चोलेन्द्रशमशेर जबराको पक्षमा सडक प्रदर्शनको नेतृत्व गरेकी एक व्यक्तिबीच नियमित सम्पर्क भएको आरोपपत्रमा उल्लेख भएको अनलाइन खबरले लेखेको थियो ।

प्रेम शाहीले आफ्नो बयानमा ‘मेरो मुद्दामा सेनाले कुनै सुनुवाइ नगरेकाले अन्य प्रक्रिया अपनाउन बाध्य भएको’ प्रतिक्रिया दिएका छन् । उनले ‘पेशीको सल्लाह अपनाउन बाध्य भएको’ स्वीकारेको दस्तावेजबाट खुल्छ । ‘गैरसैनिक अड्डा अदालतका पदाधिकारीहरूलाई अवाञ्छित र अनुचित प्रभाव पार्ने नियतले ‘पैसाको अफर गर’ भनी म्यासेज गरेको र प्रतिवादीले ‘मैले बुझें’ भनी ‘म्यासेज गरेको’ कोर्ट अफ इक्वायरीको आरोप उल्लेख गर्दै स्रोतले भन्यो, ‘त्यो विवरण अडियोबाट खुलेको देखिन्छ ।’ त्यसको प्रतिवादमा महासेनानी शाहले ‘सहजीकरणका लागि अनुरोध गरेको’ भन्दै बयानमा भनेका छन्, ‘एक रुपैयाँ पनि लिए/दिएको छैन ।’

मुद्दाको मिसिलमा शाहले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई सम्पर्क गरेको र ‘प्रेम शाहीको पेशी छ’ भन्ने जानकारी गराएको खुल्छ । लगत्तै उनले उपरथी प्रेम शाहीलाई पराजुलीको मोबाइल नम्बर पठाइदिएका छन् । त्यसपछि थप दुई न्यायाधीशसँग सम्पर्क भएको भनिए पनि आरोपपत्र र फैसलामा उनीहरूको नाम, मोबाइल नम्बर र अन्य विवरण केही पनि छैन ।

बयानमा उनले भनेका छन्, ‘न्याय हुनुपर्छ भन्नु स्वाभाविक हो ।’ कागजात पढ्दा उनले उपरथी प्रेम शाहलाई न्याय हुनुपर्छ भन्ने संकेत गरेको देखिन्छ । यो बीचमा शाहले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग पनि सम्पर्क गरेको समरी जनरल सैनिक अदालतको फैसलामा भएको विवरणमा छ । सुरुमा प्रेम शाहीमाथि भ्रष्टाचारको आरोपमा छानबिन भए पनि छानबिन गर्दा नयाँ विवरण भेटिएपछि आरोपपत्र आन्तरिक मुद्दा–मामिलाको विषयमा केन्द्रित भयो । सैनिक अधिकारीहरूले हिरासतमा रहेकाहरूलाई ‘किन दलका नेता र न्यायाधीशलाई भेटेको ? सम्पर्क गरेको ?’ भन्ने विषयमा बयान केन्द्रित गरे । आरोपपत्र र फैसलामा केही नेताहरूको नाम छैन भने केहीमा फोन नम्बर मात्रै राखेर ‘फलानालाई किन सम्पर्क गरेको ?’ भनी सोधिएको छ ।

बहालवाला न्यायाधीशहरूको हकमा ‘गैरसैनिक अड्डा अदालतका पदाधिकारी’ भन्ने सांकेतिक शब्द प्रयोग छ । पूर्वप्रधानन्यायाधीश पराजुलीको नाम छैन, तर उनले प्रयोग गर्ने ९८५१…. नम्बरको मोबाइल नम्बर छ । उनीसँग अरू सैनिक अधिकारीहरूको नियमित सम्पर्क र मुद्दामामिलाको कुराकानीबारे थप छानबिन चलिरहेको भन्दै ती सैनिक अधिकारीले उनको नम्बर उपलब्ध गराउन चाहेनन् । फैसलामा उल्लिखित एउटा नम्बर भने उनको भएको खुल्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत