बिहिबार, मंसिर १४, २०८०

ज्ञानेन्द्रलाई राजा भनेपछि संसदमा हंगामा


कान्तिपथ


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले राजावादीहरूको कुन गतिविधिले धार्मिक सद्भाव बिथोल्न लागेको हो भन्ने प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले केही सांसदहरूले राजावादी र पूर्वराजा ज्ञानेन्द्र शाहको लोकतन्त्र विरोधी गतिविधिमा निगरानी गर्नुपर्ने माग गरेको विषय उठाउँदै कुन गतिविधि लोकतन्त्र विरोधी भयो भन्ने प्रश्न गरेका हुन्।

लिङ्देनले ज्ञानेन्द्र शाहको नाम लिँदा पूर्वराजा भनेका थिएनन्।

‘केही साथीहरूले राजावादीहरू धार्मिक सद्भाव बिथोल्न लागेका छन् त्यसलाई निगरानी गर्नुपर्‍यो। राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी गतिविधिमा संलग्न भएका छन् उनको गतिविधिमा ध्यान दिनुपर्‍यो भनेर आग्रह र अनुरोध गरे। कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरूको जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ?,’ उनले प्रश्न गरे, ‘राजा ज्ञानेन्द्रको कुन गतिविधि रहेछ जसले लोकतन्त्रलाई अवरूद्ध गरिरहेको छ त्यसको जानकारी लिन चाहन्छु। त्यसबारे प्रष्ट पार्न साथीहरूलाई आग्रह गर्दछु।’

उनले जघन्य हत्याका आरोपीलाई जेलबाट छोड्ने, बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने, क्विन्टल सुन तस्करी गरेर ल्याउने लोकतान्त्रिक काम हो भन्दै प्रश्न पनि गरेका थिए।

यसपछि बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले लिङ्देनले बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।

‘नेपालको संविधानले राजा चिन्दैन। भर्खरै एक जना माननीय सदस्यले राजा शब्द प्रयोग गर्नुभयो। यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो, राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस्,’ उनले सभामुखलाई भने।

बिहीबार जसपा सांसद प्रदीप यादवले पूर्वराजा ज्ञानेन्द्र शाहका लोकतन्त्र विरोधी गतिविधिमा निगरानी गरिनुपर्ने बताएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत