बिहिबार, मंसिर १४, २०८०

के हो इजरायल-प्यालेस्टाइन युद्ध ?


कान्तिपथ


नेपाली समयअनुसार शनिबार बिहान मध्यपूर्वको मुलुक प्यालेस्टाइनको गाजा क्षेत्रबाट इजरायलमा अचानक आक्रमण भयो। ‘गाजा स्ट्रिप’बाट इजरायलमा सयौँ रकेट प्रहार गरिए। त्यतिन्जेलसम्म इजरायलको ‘इन्टेलिजेन्स’ प्रणाली यसबारे अनभिज्ञ झैँ थियो।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यस हमलाबापत हमासले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै इजरायल पनि ‘युद्धमा गएको’ बताएका छन्। इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले प्यालेस्टाइनको गाजा क्षेत्रमा जवाफी हमला गरिरहेको छ। इजरायलले गाजा स्ट्रिपमा हमासका १७ वटा आधार शिविर र ४ मुख्यालयमा हवाई हमला गरेको छ। इजरायली मिडियाका अनुसार दक्षिणी इजरायलका धेरै ठाउँमा इजरायली सुरक्षा बल र प्यालेस्टिनी लडाकुहरूबीच गोली हानाहान भइरहेको छ।

हमासका नेता मोहम्मद दाइफले पनि आफूहरू पछि नहट्ने अडान लिएका छन्।

इजरायल र हमासबीच शनिबारदेखि जारी युद्धमा दुवैतर्फ करिब एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने हमासका लडाकुहरुले इजरायलका सर्वसाधारण र सैनिक गरी एक सयभन्दा बढीलाई बन्दी बनाएका छन् । यो युद्धले दुवै पक्षबीचको दशकौं लामो विवादबारे स्वाभाविक जिज्ञासा उत्पन्न भएको छ ।

सन् १९१४ देखि १९१८ सम्म चलेको प्रथम विश्वयुद्धमा तत्कालीन ओटोमन साम्राज्य पराजित भएपछि बेलायतले प्यालेस्टाइन क्षेत्र आफ्नो नियन्त्रणमा लियो, जहाँ बहुसंख्यक अरब र अल्पसंख्यक यहुदी बस्दै आएका थिए । प्यालेस्टाइनमा यहुदीका लागि छुट्टै मातृभूमि स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायले बेलायतलाई भनेपछि अरबहरुले त्यसको विरोध जनाए । यहीबाट भएको थियो प्यालेस्टिनी अरब समुदाय र यहुदीबीच द्वन्द्वको बीजारोपण । योबीचमा विश्वका विभिन्न देशमा छरिएर रहेका यहुदीहरु आफनो बेग्लै मातृभूमि निर्माण गर्ने भनेर प्यालेस्टाइनमा ओइरिए ।

१९२० देखि १९४० को दशकमा त्यहाँ आइपुग्ने यहुदीको संख्या उल्लेख्य रुपमा बढ्यो । अरब र यहुदीबीचको द्वन्द्वका साथै बेलायती शासनविरुद्धको संघर्ष बढ्दै गएपछि १९४७ मा राष्ट्रसंघले प्यालेस्टाइनलाई यहुदी र अरब दुई राज्यमा विभाजित गर्ने र जेरुसलमलाई अन्तर्राष्ट्रिय प्रशासनअन्तर्गत राख्ने प्रस्ताव पारित गर्यो । यहुदी नेतृत्वले सो योजनाको स्वागत गरे तर अरबहरुले अस्वीकार गरे ।

विवाद साम्य पार्न नसकेपछि सन् १९४८ मा बेलायती सरकार उक्त क्षेत्रबाट बाहिरियो । र, यहुदी नेताहरुले इजरायल नामको देश स्थापना गरेको घोषणा गरे । सन् १९४८को मे १४मा स्टेट अफ इजरायल गठनको घोषणा गरिएपछि अरब लिगले प्यालेस्टिनीको पक्षबाट हस्तक्षेप गर्ने निर्णय गर्यो र अरब-इजरायल युद्ध भड्कियो । सन् १९४९ मा भएको युद्धविराम सम्झौतासँगै यो युद्ध अन्त्य भयो । त्यसबेला प्यालेस्टाइनी भूभाग स्टेट अफ इजरायल, जोर्डन नदीको किनारमा पर्ने द वेस्ट ब्यांक र गाजा क्षेत्रमा बाँडिएको थियो ।

वेस्ट ब्यांकमा जोडर्नले कब्जा जमायो भने इजिप्टले गाजा स्ट्रिप । जेरुसेलम पनि दुई भागमा विभाजन भयो जसमध्ये पश्चिमी भाग इजरेली सेनाको नियन्त्रणमा रह्यो भने पूर्वी भाग जोर्डन सेनाको कब्जामा रह्यो ।

सन् १९६७ मा इजरायल र अरबबीच ६ दिनसम्म चलेको युद्धपछि इजरायलले पूर्वी जेरुसलम, वेस्ट ब्यांक र गाजा क्षेत्र नियन्त्रणमा लियो । प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन र इजरायलबीच भएको ओस्लो शान्ति सम्झौताअन्तर्गत वेस्ट ब्यांकका केही भाग र गाजा स्ट्रिप प्यालेस्टिनियन नेसनल अथोरिटीका नाममा प्यालेस्टिनीहरुअन्तर्गत आयो । अहिले वेस्ट ब्यांकमा तत्कालीन प्यालेस्टिनियन नेसनल लिबरेसन मुभमेन्ट र हालको फताह पार्टीको सरकार छ भने गाजा क्षेत्रमा हमासको शासन छ । गाजा र वेस्ट ब्यांक क्षेत्र एक-आपसमा जोडिएका भने छैनन् ।

यिनीहरुबीचको क्षेत्रमा इजरायलको भूमि पर्दछ । हाल वेस्ट ब्यांक १६५ वटा प्यालेस्टिनियन इनक्लेभ र दुई सयवटा इजरायली सेटलमेन्टमा विभाजित छ । प्यालेस्टिनियन इनक्लेभमा प्यालेस्टिनियन नेसनल अथोरिटीको शासन छ भने इजरायली सेटलमेन्ट पूर्णत इजरायली नियन्त्रणमा छ ।

२००६ मा भएको निर्वाचनबाट गाजामा हमास सत्तामा आएको हो भने त्यसयता इजरायलले गाजामाथि जल, स्थल हवाई नाकाबन्दी लगाउँदै आएको छ । जसका कारण यहाँका मानिसहरु स्वतन्त्र रुपमा बाहिर जान वा भित्र प्रवेश गर्न पाउँदैनन् । इजरायल र प्यालेस्टिनीहरु सहमतिमा आउन नसक्ने सबैभन्दा महत्त्वपूर्ण मुद्दा इजरायलसँगै प्यालेस्टिनी राज्य बनाउने/नबनाउने भन्ने नै हो ।

यसका साथै छिमेकी देशमा रहेका प्यालेस्टिनी शरणार्थीलाई के गर्ने, वेस्ट ब्यांकमा रहेको यहुदी बस्ती कायमै राख्ने कि हटाउने, जेरुसलम दुवै पक्षले भाग लगाउने कि नलगाउनेजस्ता विवाद छन् ।

मध्यपूर्वको बीचमा रहेको सानो मुलुक इजरायललाई एक शक्तिशाली राष्ट्रको रूपमा चिन्ने गर्छन्। पछिल्लो समय इजरायल नेपालीहरूको रोजगार गन्तव्य मुलुक बनेको छ। तर प्यालेस्टाइनबारे अझै धरैलाई त्यति जानकारी छैन। कतिपयलाई लाग्छ, यो एक देश हो। यदि त्यसो हो भने यसलाई संयुक्त राष्ट्रसंघले मान्यता दिएको छैन। राष्ट्रसंघमा यो ‘नन–मेम्बर अब्जर्भर स्टेट’ अर्थात्, सदस्य नरहेको पर्यवेक्षक राष्ट्रको मान्यता छ। देशको पूर्ण मान्यता नभएकै कारण राष्ट्रसंघले मताधिकारसहितको सदस्य नबनाएको हो।

सन् १९८७ को जनआन्दोलनको क्रममा प्यालेस्टिनी नेता शेख अहमद यासिनद्वारा हमासको गठन भएको थियो। यसको मुख्य उद्देश्य प्यालेस्टिनी भूभागलाई इजरायली कब्जाबाट मुक्त गर्नु र स्वतन्त्र इस्लामिक राष्ट्र स्थापना गर्नु हो। 

सन् १९९३ देखि २००५ सम्म हमासले इजरायलमा धेरै आत्मघाती हमला गरेको थियो। २००६ मा हमासले गाजामा ‘कू’ गरेर आफू सत्तामा आयो। हाल गाजा पट्टीमा हमासको सरकार छ। त्यहीँबाट इजरायलमा हमला गरिरहन्छ। सन् २०२१ मा हमासले इजरायलमा रकेट आक्रमण गरेको थियो। हमासले जेरुसेलममा लामो दूरीका रकेट प्रहार गरेको थियो, जसमा सयौँ मानिसको ज्यान गएको थियो भने, हजारौँ घाइते भएका थिए।

क्यानडा, युरोपेली संघ, इजरायल, जापान र अमेरिकाले हमासलाई आतंकवादी संगठन मान्छन्। ब्राजिल, चीन, इजिप्ट, इरान, नर्वे, कतार, रुस, सिरिया र टर्कीले भने यसलाई आतंकवादी संगठन मान्दैनन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत