जिल्ला प्रशासन कार्यालय बाँकेले आज राति १० बजेदेखि भाेलि बिहान ४ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र चार किल्ला ताेकेर कर्फ्यु आदेश जारी गरेकाे छ । उपमहागरकाे पूर्वमा मिलन चोक, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा कारकाँदो चोक र दक्षिणमा जमुनाहा सीमा नाकामा राति १० बजेदेखि भाेलि बिहान ४ बजेसम्म कर्फ्यु लगाइएकाे हाे ।
साथै भाेलि दिउँसो १२ बजेदेखि राति १० बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र (पूर्वमा मिलन चोक, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा कारकाँदो चोक र दक्षिणमा जमुनाहा सीमा नाका) चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टास्न वा लेख नपाइने प्रशासनले भनेकाे छ । हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । धार्मिक तनावका कारण नेपालगञ्ज अशान्त बनेपछि प्रशासनले कर्फ्यु लगाउँदै आएको छ । हिजो पनि यसरी नै कर्फ्यु आदेश जारी गरिएको थियो ।