प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम कार्की ‘पार्थ’द्वारा लिखित पुस्तक ‘विकल्प : समता, समाजवाद र मुक्त दुनिया’ लोकार्पण गरेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा किताब विमोचन गरिएको हो ।
कार्यक्रममा उनले देशको अप्ठ्यारो र सजिलो सबै अवस्थामा प्रधानमन्त्री हुनुपर्ने बाध्यकारी अवस्था आएको बताए । समग्र माओवाद र कम्युनिस्ट विचारधाराको रक्षार्थ सबै अवस्थामा जुध्नु परिरहेको उनको भनाइ थियो ।
“पहिले सर्वहारा वर्गको प्रतिनिधित्व गरेर नेतृत्व गरेँ,” प्रधानमन्त्री प्रचण्डले भने, “अहिले दलाल पुँजीपतिहरूको चाकडी गरेर सरकारको नेतृत्व गरेजस्तो देखिन्छ ।”
समाजमा विचारलाई मर्न नदिन र सिद्धान्तले समाजलाई जीवन्त राख्ने हुनाले आफूले यो पुस्तक लेखेको कार्कीले बताए । बुकहिलले प्रकाशन गरेको यो पुस्तकको मोटो गाताको प्रतिमूल्य ९०० रुपैयाँ राखिएको छ । पातलो गाताको प्रतिमूल्य ७०० रुपैयाँ राखिएको बुकहिलले जनाएको ।
लोकार्पणमा प्रधानमन्त्री प्रचण्ड, लेखक कार्की र टिप्पणीकार झलक सुवेदीलले राखेका विषय यहाँ प्रस्तुत गरिएको छ ।
विषय अलि ठूलो पर्यो । मैले टिप्पणी, चर्चा, बहस गर्न सजिलो छैन । झलकजीले टिप्पणी गर्दै गर्दा — कतिपय सन्दर्भमा उहाँले बडो गम्भीर कुरा भन्न बल गरेको जस्तो पनि, कतिपय बेला आफ्नै कुण्ठा व्यक्त गरेको हो कि भन्या जस्तो पनि मलाई महसुस भयो ।
अहिले दर्शन, राजनीति र सामाजिक क्रान्तिका विषय — त्यो विज्ञानका विषयमा चर्चा गर्न यति बेला नेपालमा सजिलो छैन ।
हिजो जनवादी क्रान्तिको नेतृत्व गर्न भनेर जनयुद्धको नेतृत्व गर्दै गर्दाको अनुभव र एउटा नितान्त भिन्न परिस्थिति, शक्ति सन्तुलनको नितान्त अर्कै परिस्थितिमा शान्ति सम्झौतातिर देशलाई लैजानको निम्ति गरेको पहल कदमीका अनुभव मसँग छन् । शान्ति सम्झौतामा हस्ताक्षर गर्दै गर्दाका अनुभव र पहिलो संविधानसभाबाट देशको सबभन्दा ठूलो पार्टीको नेतृत्वको हैसियतले जनतामा रहेको अपार विश्वास, भरोसा र त्यसको नेतृत्व गरेर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदाको अनुभव पनि मसँग छन् । अहिले देशको तेस्रो पार्टी बनेर, त्यो पनि सानो पार्टी, त्यसको नेतृत्व गर्दै फेरि प्रधानमन्त्री भएको छु । बलियो हुँदा पनि प्रधानमन्त्री, कमजोर हुँदा पनि प्रधानमन्त्री मलाई नै बन्न किन परेको हो भन्नेमा छु म त !
के कारणले भएको छ यस्तो ? यहाँ अहिले साथीहरूले टिप्पणी गरेजस्तै हिजो बडो क्रान्तिकारी भएको हुनाले प्रधानमन्त्री, अहिले झलक सुवेदीले सबै वर्ग छाडेर पूरा दक्षिणपन्थी दलाल पुँजीपतिको सेवा गरेका हुनाले प्रधानमन्त्री ! यसको व्याख्या तपाईंहरूले सोच्नुभएको छ ? के हो यसको विश्लेषण, के कारणले यस्तो भइराख्या छ नेपालमा ? संकट अहिले भर्खरै जन्म्या हो कि यो संकटको जरा अलि परैसम्म छ ? यसको बारेमा पनि गम्भीर चिन्तन र एउटा नयाँ संश्लेषण जरुरी छ ।
मार्क्सवादले हामीलाई केही आधारभूत, वैज्ञानिक मान्यताहरू दिएको छ, तर मार्क्सवादले हामीलाई सबै सूत्रहरू दिएको छैन, जसलाई रटेपछि दायाँबायाँ नभईकन क्रान्ति फटाफट अगाडि बढ्छ भन्ने त्यस्तो दिएको छैन तर राम कार्कीले यो विकल्प पुस्तकमा मार्क्सवादको बारेमा जो व्याख्या गर्ने जमर्को गर्नुभएको छ, समय परिस्थिति अनुसार त्यसलाई विकसित, परिमार्जन, संशोधन गर्नुपर्ने र त्यसलाई यान्त्रिक ढंगले धर्मशास्त्रलाई जस्तो रटेर हुँदैन भन्ने नै उहाँको सार हो ।
उहाँका लेखहरूको मात्रै कुरा होइन, उहाँसँग लामो पार्टी जीवनका अनुभवहरूका आधारमा पनि उहाँले यहाँ के कसरी लेख्नुहुन्छ भन्ने मलाई पहिल्यै थाहा छ । यो लेख्नुभन्दा पहिले, यी लेखहरू पढ्नुभन्दा पहिले राम कार्कीले बोल्ने पनि यसरी नै हो, राम कार्कीले लेख्ने पनि यसरी हो भन्ने मलाई थाहा छ । उहाँले त्यसरी नै लेख्नुभा’छ । मेरा भनाइहरूको प्रभाव पनि राम कार्कीमा छ, राम कार्कीको प्रभाव ममा पनि छ, त्यसका कारण मलाई के लाग्छ भने हामीले मार्क्सवादलाई धर्मशास्त्रका रूपमा होइन, कुनै सूत्रहरूको रूपमा होइन, सामाजिक क्रान्तिको विज्ञानका रूपमा बुझ्नुपर्छ । जसले निरन्तर परिवर्तन, परिमार्जन र निरन्तर विकासको अपेक्षा गर्दछ । त्यही रूपमा लिनुपर्छ ।
बुद्धिजीवीका उपदेश सुन्दा वाक्कै लाग्छ मलाई कहिले कहिले । यी उपदेश पनि धेरै भयो । गर्नु जान्नु केही छैन, जहिले उपदेश दिया छ, आन्दोलनको नेतृत्वको गर्ने, त्याग बलिदान गर्नेहरूलाई सरापेको छ, हिँडेको छ, त्यसले हुनेवाला केही छैन । प्रत्येक क्रान्ति, इतिहासको जुनसुकै क्रान्ति — फ्रान्सको पेरिस कम्युन, अक्टोबर क्रान्ति, चिनियाँ क्रान्ति, क्युबाको क्रान्ति, कोरियाको क्रान्ति, क्रान्तिको बारेमा एउटा कुरा के हो भने प्रत्येक क्रान्तिले शक्तिशाली प्रतिक्रान्तिलाई जन्म दिँदै अगाडि बढ्छ भन्ने कुरा नबिर्सौं । म बुद्धिजीवी साथीहरूलाई विशेष रूपले भन्न चाहन्छु, क्रान्तिको त्यो नियम नै हो, अहिले यहाँ कोही नेता बिग्रनु र सप्रनुसँग यो सम्बन्धित मात्रै होइन । माक्र्सकै शब्दमा क्रान्तिको नियम भनेकै शक्तिशाली प्रतिक्रान्तिलाई जन्म दिँदै र त्यसका विरुद्ध संघर्षको क्रममा विकसित हुने कुरा हो । क्रान्ति एकचोटि भएपछि प्रतिक्रान्ति हुँदैन, प्रतिगमन आउँदैन, प्रतिगमन र प्रतिक्रान्तिसँग लड्नुपर्दैन भनेर सोचियो भने त्यो मार्क्सवाद होइन । त्यो विज्ञान होइन । यस्तै हुन्छ, भएकै छ सबैतिर ।
कुन चाहिँ क्रान्ति भएपछि त्यो निरन्तर अगाडि गयो ? हामी अक्टोबर क्रान्तिको कुरा गर्छौं, लेनिनले अक्टोबर क्रान्ति भएको ६ वर्षपछि आफ्नै सत्तालाई वाहियात, भ्रष्ट र बेकारको सत्ता भनेर गाली गर्नुपर्ने स्थिति किन आयो ? हामीले त्यसको पनि समीक्षा गर्नुछ । अहिले २१औँ शताब्दीमा विज्ञान–प्रविधिको विकास, सामाजिक वर्गहरूको स्थितिमा आएको परिवर्तन, अर्थतन्त्रको स्थितिमा आएको परिवर्तनको गम्भीर समीक्षा नगरी धारणा बनाउनु हुँदैन । त्यो समीक्षा बनिबनाऊ हुनु हुँदैन । एकचोटि क्रान्तिको नेतृत्व गरेकाले त्यसैले निरन्तर गरिराख्छ, गर्नुपर्छ भन्ने कुनै अनिवार्यता छैन, हुँदैन पनि । मैले मार्क्सवादलाई बुझ्दै गर्दा, हिजो जनयुद्धको तयारी गर्दै गर्दा, या शान्ति सम्झौता या संविधानसभामा जाँदा हरेकपटक युवाहरूलाई, क्रान्तिकारीहरूलाई भन्ने गरेको कुरा हो यो ।
म पार्टी नेतृत्वमा रहेको झन्डै ३५ वर्ष हुन लागिसक्यो, छाड्छुभन्दा पनि सुख छैन । तपाईंहरू भन्न सक्नुहुन्छ, प्रचण्डले अब छाडिदिनुपर्छ, फलानो आउनुपर्छ भन्न सक्नुहुन्छ । तपाईंहरूले भनिदिनुभयो भने म खुसी हुन्छु, तर परिस्थिति त्यस्तो हुँदैन ।
विद्रोह अधिकार हो, विद्रोह जनताको पनि अधिकार हो, विद्रोह क्रान्तिकारीहरूको पनि अधिकार हो, जिम्मेवारी पनि हो । तपाईं हेर्नुभयो भने शान्ति सम्झौतामा आएपछि हामीले भन्ने गरेको विद्रोहको अधिकार हाम्रा साथीहरू धेरैले प्रयोग गर्नुभयो । मैले खुब विद्रोह विद्रोह भन्थेँ । पार्टी नेतृत्व बिग्रियो भने त्यसलाई ठोक्दिनुपर्छ भन्ने मै हो, धेरै भन्थेँ, धेरै लेखेको पनि छु । विद्रोहको अधिकार प्रयोग गर्नुपर्यो । विद्रोहको अधिकार केही साथीहरूले प्रयोग गर्नु त भयो, यो अधिकारी प्रयोग गरेर अर्को क्रान्तिकारी विचार, क्रान्तिकारी आन्दोलन, क्रान्तिकारी पार्टी बन्यो या बनेन ? किन बनेन त ? विद्रोहको अधिकार प्रयोग गर्ने साथीहरूले यसो गर्न किन सक्नुभएन ? हामीले जसले विद्रोहको अधिकारको शिक्षा दियौँ, हामीले पार्टी नेतृत्व, सरकारको नेतृत्व गरिराख्नुपर्ने बाध्यता किन आइराखेको छ ? के एकाधिकारवादी भएर हो ? के निरंकुशतावादी भएर हो त ? त्यस्तो होइन भन्छु म ।
अहिलेको समस्या, यहाँ दुइटा कोणबाट हेर्न जरुरी देख्छु म । एउटा अहिलेको संकट दक्षिणपन्थीहरूले पैदा गरेको संकट हो कि वामपन्थी विचलनबाट पैदा भएको संकट हो ? अहिलेको संकट भनेको, नेपालमा गणतन्त्र स्थापित गर्नका निम्ति लडेकाहरूको संकट हो कि गणतन्त्र रोक्नको निम्ति लड्नेहरूको संकट हो ? मेरो विचारमा यो विषय धेरै गम्भीर छ, अहिले हामीले क्रान्तिको नेतृत्वलाई, या परिवर्तनका वाहकहरूलाई, परिवर्तनको पक्षमा लड्नेहरूलाई धिक्कारेर हिँड्नु क्रान्तिकारीपना हो कि यो प्रवृत्तिको रक्षामा आउनु क्रान्तिकारिता हो ? यो सबैले विचार गर्नुपर्ने विषय देख्छु म ।
अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको छ । जनयुद्ध गर्नु गल्ती थियो, हिंसा थियो, त्यो अपराध थियो, एउटा एङ्गल तपाईंहरूले सुनिराख्नुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु गल्ती थियो, त्यसलाई उल्टाउनुपर्छ भन्ने अर्को कोण तपाईं–हामीले देखिराखेका छौँ, सुनिराखेका छौँ । यो परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिराख्नुपर्छ भन्ने अर्को पक्ष पनि छ । एकथरी मान्छेहरू यो परिवर्तनका वाहकहरूलाई विद्रूपीकरण गर्ने, तिनलाई बदनाम गर्ने, कुनै तरिकाले तिनको प्रभावलाई, ऐतिहासिक रूपमा प्रेक्षित भएका तिनका एजेन्डाहरूलाई कमजोर पार्ने कसरत जो भइराख्या छ, त्यो कसरतलाई मद्दत पुर्याउने ढंगले हाम्रा अभिव्यक्ति र गतिविधिहरू हुने कि यो परिवर्तनको रक्षा गर्नेहरूको पक्षमा हुने भन्ने फैसला सबै क्रान्तिकारी र चिन्तकहरूले गर्न जरुरी छ ।
अहिले राम्रा काम भएको हामीले देख्न छोड्न थालेका छौँ । नराम्रा मात्रै देख्न थालेका छौँ । यो सोचको समस्या हो कि लिडरसिपकै समस्या मुख्य रूपमा हो ? लिडरसिप जनता र इतिहासले जन्माउने हो कि लिडरसिपले इतिहास र जनता जन्माउने हो ? हामी जहिले पनि भन्छौँ — लिडरसिप भनेको जनता र इतिहासले आन्दोलन र संघर्षको बीचबाट जन्माउने कुरा हो । यसको जन्मदाता लिडर होइन,
लिडरको जन्मदाता जनता र इतिहास हो, आन्दोलन हो, वर्ग संघर्ष हो ।
आजको सापेक्षतामा वर्ग संघर्ष के हो ? मैले हेर्दा के देख्छु भने हिजो जनयुद्धको नेतृत्व गर्दै गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा जे–जस्ता परिवर्तन देखापर्यो, स्वयं आन्दोलनभित्र जे–जस्ता चुनौती देखापरे, त्यो परिस्थितिमा हामीले बुर्जुवाहरूसँग सम्झौता गरेर भए पनि त्यसलाई गणतन्त्रको युगसम्म लैजानु, संघीयताको युगसम्म लैजानु, समावेशिताको युगसम्म लैजानु क्रान्तिकारी नै काम हो, त्यसो गरिएन भने विश्वमा थुप्रै क्रान्तिहरू जसरी क्रान्तिकारिताको प्रदर्शन गर्दागर्दै खतम भए, अवसान नै भए, विध्वंश भए, हाम्रो पनि बाटो त्यही हुने खतरा छ भन्नु क्रान्तिकारिता हो ? कि क्रान्तिकारीले बुर्जुवासँग कुनै सम्झौता गर्दैन भन्नु क्रान्तिकारिता हो ? यो प्रश्नमा यति बेला सबै मार्क्सवादीले गहिरो गरी विचार गर्न जरुरी छ । त्यो विचार नगर्ने हो भने हुनेवाला के छ भने हामीले क्रान्तिकारिताको कुरा गर्दै गर्दा साँच्चै दक्षिणपन्थी निरंकुशतावाद, फासिजम्ले टाउको उठाउने खतरा यो देशमा हुन्छ । त्यसकारण हामीले हाम्रै त्याग र बलिदानबाट, हाम्रै आन्दोलनबाट विकसित भएका मुद्दाहरूलाई, परिवर्तनलाई जोगाउने लडाइँतिर लाग्ने कि त्यसलाई उल्ट्याउन चाहने प्रतिक्रान्तिलाई फाइदा हुने गरीकन हाम्रा भाषाहरू प्रयोग गर्ने ?
मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा त यो सिस्टमको धेरै अनुभव भएन, अहिले मलाई अलि अनुभव छ । मैले अलि धेरै थाहा पाएको छु, सबै थाहा पाएको छु भन्ने होइन । त्यसकारण योपटक केही राम्रा काम भएकै देख्छु । राम्रा काम गर्न खोजिएकै देख्छु मैले । यसलाई सकारात्मक ढंगले दक्षिणपन्थका विरुद्ध, प्रतिक्रान्तिका विरुद्ध, प्रतिगमनका विरुद्ध प्रयोग गर्नेतिर भन्दा आफैँभित्र झन् बढी अविश्वास र आशंका पैदा गर्ने काम गरिनु हुँदैन ।
राम कार्कीले लेख्नुभएको यो विकल्प पुस्तकमा मार्क्सवादको बारेमा दार्शनिक र सैद्धान्तिक रूपले उहाँले जे भन्न खोज्नुभएको छ, मलाई के लाग्छ भने मैले त्यही प्रयोग गरिराख्या छु । मलाई गलत साबित गर्नुपर्यो । एकछिन गाली गरेर त हुँदैन, समाजलाई पनि डोर्याउन सक्नुपर्यो नि । मैले त्यही गरेँ, शान्ति सम्झौता गरेको त्यही हो । जीवन व्यवहारमा मार्क्सवादको प्रयोग गरेको हो । संविधानसभा गरेको पनि त्यही गरेको हो । संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने ठाउँमा देशलाई पुर्याएको पनि मार्क्सवादकै प्रयोग गरेको हो ।
अहिले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षको लडाइँ पनि मेरो विचारमा मार्क्सवादकै प्रयोग हो, तर भिन्न परिस्थितिमा । यसलाई गलत साबित गरेर अर्को सही साबित गर्न त एउटा निकै ठूलो बहसको बीचबाट जान जरुरी छ । जसले मार्क्सवादलाई धर्मशास्त्रको रूपमा होइन, एउटा सूत्रको रूपमा होइन, विज्ञानको रूपमा बुझ्छ, उसले यसै गरी बुझ्छ । मेरो यो दाबीलाई गलत साबित गर्न म तपाईंहरू सबैसँग अनुरोध गर्न चाहन्छु, झलक (सुवेदी)जीलाई पनि ।
गलत साबित तर्कमा मात्रै गरेर हुँदैन, सामाजिक र राष्ट्रिय जीवनमा पनि त्यो गलत साबित हुनुपर्छ ।
राम कार्कीले यो पुस्तकमा मार्क्सवादका बारेमा जे कुरा भन्नुभएको छ, २०औँ शताब्दीको समाजवादबारे उहाँले समीक्षा गर्ने जमर्को गर्नुभएको छ, जसमा थुप्रै महान् क्रान्तिहरू पनि भए र थुप्रै भयानक प्रतिक्रान्ति पनि भए — त्यसको समीक्षा गर्ने जमर्को गर्नुभएको छ । उहाँ राइट फ्रम द भेरी बिगिनिङ — उहाँको सोच अलिकति आलोचनात्मक पहिलेदेखि नै हो । माक्र्सको आलोचनात्मक हुनुपर्छ, हरचिजमा शंका गर्नुपर्छ र त्यसभित्र प्रश्न उठाउनुपर्छ भन्ने भनाइबाट उहाँ (कार्की) प्रभावित हुनुहुन्छ ।
माक्र्स, लेनिन, माओ, रोजा लक्जम्बर्गदेखि अरु थुप्रै त्यतिबेला लेनिनहरूले भनेका दक्षिणपन्थी, संशोधनवादीलाई पनि उहाँ (कार्की)ले फेरि एकचोटि रिभिजिट गर्नुपर्छ भन्ने मान्यताबाट प्रेरित भएर लेख्नुभाछ । अर्कोतिर माक्र्स, स्टालिन, लेनिनहरूले भनेका सबै कुरालाई समर्थन गर्न सकिँदैन भनी साहसका साथ त्यसलाई उजागर गर्ने कोसिस पनि गर्नुभएको छ । नेपाली कम्युनिस्ट आन्दोलनका बारेमा समेत गम्भीर समीक्षा गर्ने जमर्को गर्नुभएको छ । कुनै सैद्धान्तिक प्रस्तावनाको व्याख्या भन्दा पनि यो किताबमा उहाँले समाजवादको समर्थन र विश्वव्यापी मान्यता र अभ्यासहरूको समीक्षा गर्ने विषयमाा बढी केन्द्रित भएको देख्छु म ।
उहाँ पनि पार्टीमा पदाधिकारी लेभलमा हुनुहुन्छ, पार्टीको विश्लेषण संश्लेषणभन्दा अलिकति आफ्नै प्रवृत्ति पनि देखिन्छन् । पार्टीमा उहाँलाई दमन गर्ने गरिएको छैन । अलिकति भिन्न र मौलिक ढंगले आलोचनात्मक टिप्पणी राख्ने गर्नुभएको हुनाले उहाँमाथि नकारात्मक सोच पार्टीले कहिल्यै पनि राखेको छैन । यो कुरा पनि मैले योपटक भन्नुपर्यो, यहाँ अलिकति प्रश्न त्यसरी उठेको हुनाले ।
राम कार्कीको यो सबै सकारात्मक आलोचनात्मक चेतना र स्वतन्त्रताका पक्षमा उहाँले उठाइराखेको आवाजको बीचमा उहाँभित्र फेरि अलिअलि स्वच्छन्दतावाद, अलिअलि अराजकतावाद पनि छ । उहाँको जीवनशैलीमा पनि, उहाँको सोच्ने शैलीमा पनि केही न केही स्वच्छन्दतावाद र अराजकतावादको अवशेष पनि उहाँभित्र छ । यो पुस्तकमा त्यो पनि व्यक्त भइराख्या छ ।
यसको सार भन्नुपर्दा, २१औँ शताब्दीमा नेपालको समाजवाद कस्तो हुने, समाजवादको विचारको संश्लेषण कसरी गर्ने ? विश्लेषणको मौलिकतातिर कसरी जाने ?
त्यहाँ बस्दै गर्दै कार्कीजीले भन्नुभयो — स्वतन्त्र बुद्धिजीवी नै नभेटिने रैछ नेपालमा । ठीकै हो, यहाँ कि माओवादी बुद्धिजीवी, कि एमाले बुद्धिजीवी कि कांग्रेस बुद्धिजीवी कि समाजवादी बुद्धिजीवी छन् — स्वतन्त्र बुद्धिजीवी त भेट्न गाह्रो छ नेपालमा ।
फेरि पनि उहाँको निष्कर्षमा मेरो समर्थन छ, उहाँको निष्कर्षलाई मैले के बुझेको छु भने समाजवाद सबभन्दा उन्नत र स्वतन्त्र व्यवस्था हो भन्ने उहाँको दृढ निष्कर्ष छ । कम्युनिस्ट पार्टी र समाजवादी राज्य सबभन्दा लोकतान्त्रिक हुनुपर्छ भन्ने कुरालाई बडो जोड दिनुभएको छ ।
लेनिनले ‘राज्य र क्रान्ति’मा भन्नुभएको छ — बुर्जुवा लोकतन्त्रलाई क्लाइमेक्समा पुर्याइदिएपछि समाजवादी लोकतन्त्र त्यहीँबाट सुरु हुन्छ । त्यसकारण लोकतन्त्रलाई जति सुदृढ गर्न सक्यो, समाजवादको आधार बलियो हुन्छ । आलोचनात्मक चेत जति बलियो भयो, त्यसलाई जति प्रोत्साहित गर्न सक्यो त्यति नै समाजवादको आधार बन्छ । नेतृत्वको केन्द्रीकरण, अति केन्द्रीकरण र फलामे अनुशासन भन्ने जस्ता कुराले समाजवादको जग कमजोर हुन्छ ।
यो कुरा आजको युगमा बिल्कुल सही छ, यसलाई पनि यान्त्रिक ढंगले बुझ्नु बिल्कुल गलत हुन्छ । हिजो युद्धको नेतृत्व गर्दै गर्दा नेतृत्वको केन्द्रीकरण नगरेको भए, अनुशासनको कुरा नगरेको भए, सम्पूर्ण तागतलाई एक ढिक्का बनाएर प्रतिक्रान्तिका विरुद्ध लडाइँ नलडेको भए हामी आज कहाँ छौँ त्यहाँ हुने थिएनौँ तर अब फेरि त्यही कुरा दोहोर्यायौँ भने त्यो सही हुँदैन । अहिलेको भिन्न परिस्थितिमा भिन्न ढंगले हामीले लोकतन्त्र र पार्टी निर्माणको अभ्यास गर्नुपर्छ ।
अहिले हामी दक्षिणपन्थ, निरंकुशता, अराजकतावाद, प्रतिगमन र प्रतिक्रान्तिका विरुद्धको लडाइँमा छौँ । यो गणतन्त्रलाई जनताको गणतन्त्र, समाजवादी गणतन्त्र बनाउन चाहनेहरू एकातिर ध्रुवीकृत हुने र यसलाई उल्ट्याउन चाहनेहरू अर्कोतिर ध्रुवीकृत हुने जो प्रक्रिया चलेको छ, हामी सबैले आ–आफ्नो कित्ता छुट्ट्याउनुपर्छ । सबैलाई धारेहात लगाएर, गाली गरेर परिवर्तनका पक्षधरलाई सरापेर दक्षिणपन्थी निरंकुशतावादी, अराजकतावादीहरूलाई मद्दत गर्ने कि परिवर्तनका पक्षधरका पक्षमा, राम्रो काम गने खोज्नेका पक्षमा उभिएर यो गणतन्त्रलाई जनताको गणतन्त्र बनाउने ? लडाइँ त्यही नै हो ।
राम कार्कीको यो पुस्तक यो गणतन्त्रलाई समाजवादी गणतन्त्र बनाउन संघर्ष गरौँ भन्ने नै हो ।
पार्टीमा रसियन तरिकाको बम ब्लास्ट गरिराख्नुपर्छ : लेखक राम कार्की
समाजवाद मार्क्सको होइन, मार्क्सले कहीँ पनि पेस गरेका छैनन् । मार्क्सवाद लेनिनले गरेको व्याख्या हो । नेपाली कम्युनिस्ट आन्दोलनमा यसबारे बेला–बेला प्रश्न उठाइन्छन् — चाहे एमाले, चाहे हामी माओवादी हौँ । त्यहाँबाट लेनिन हटाइन्छ भने समाजवाद छैन । उनले एउटा सिस्टम वा शृङ्खलाको विकास गरे । लेनिनलाई ठोक्नुहुन्छ भने समाजवादको अर्को आधार दिनुपर्छ । समाजवादको विकल्प के छ ? सर्वहाराको अधिनायकत्व सशस्त्र क्रान्ति ‘भ्यान्गार्ड’ एउटा सूत्र ल्याएका छन् । ती सूत्रमध्ये एउटा मान्दिनँ भनेर हाम्रो पार्टी पनि कहिलेकाहीँ लरबराएको छ ।
कम्युनिस्टहरूले पानी समातेर हिंसा त्याग्दैनन्, बलको प्रयोग पानी समातेर छाड्ने कुरा होइन । हामीले क्रान्ति शान्तिपूर्ण ढंगले गर्ने भनिराखेका छौँ । अहिले हिन्दुवाहिनी सेना आयो भने हामी शान्तिपूर्ण रहन्छौँ ? प्रतिवाद गरिहाल्छ । त्यसैले हिंसा गर्ने वा अहिंसा गर्ने त्यो हाम्रो छनोटको विषय होइन । परिस्थितिमा निर्भर गर्छ । रोजा लक्जेम्बर्गले बडो राम्रोसँग भनेकी छिन्, यो दराजबाट चिज झिकेर खाएजस्तो होइन । चाहे शान्तिको बाटो हिँडौँ, चाहे हिंसाको बाटोमा हिँडौँ हामीले आफ्नो इन्टिग्रिटी छ । कम्युनिस्टको जो जुझारुपन छ, सादकीपन छ, विनम्रतापन छ, त्यसलाई जोगाइराख्नुपर्छ । परिमार्जन गरिराख्नुपर्छ ।
मेरो विचारमा चीन र भारतलाई ठुलो अर्थतन्त्र, सामरिक शक्ति भनेर मात्र हामीले हेर्छौँ । हामीले किन यसरी नहेर्ने, धेरै मान्छे छन्, धेरै दिमाग छ । चीनमा २ अर्ब टाउको छ, भारतमा २ अर्बभन्दा बढी टाउका छन् ।
म अध्यक्षलाई पनि भन्छु, पहिले त हामी आँट गर्थ्यौँ । चुनवाङ बैठकको पनि ‘स्पिरिट’ थियो, संसारभरिका कम्युनिस्टलाई बहसमा ल्याउँछौँ । यतिको सभा गर्ने र प्रजातन्त्रवरिपरि कहीँ पनि छैन । अहिले नेपाल मात्र एउटा टापु छ । अझ प्रधानमन्त्रीलाई छेउमा राखेर विद्रोहको कुरा गर्ने कल्पनै गर्न सकिँदैन । बंगलादेशमा प्रत्येक वर्ष १९७५ को शेख मुजिबुर रहमानलाई मारेको मुद्दा लगाएर १० जनालाई झुन्ड्याउने गरिन्छ । १० जना समात्यो अझै केही छुटेका छन् भन्छ । केहीलाई पक्रन बाँकी छ भन्छ । पाकिस्तानमा दुई वटा परिवार छ — सिन्ध र पन्जाबको, तिनीहरूको घमासान युद्ध छ । श्रीलंकामा त्यस्तै २/३ वटा परिवारले शासन गरिरहेका छन् । भारतमा यतिको बोल्ने मानिस कि त जेलमा छन् कि त विदेशमा । केही दिनअघि मात्रै ४६ जना स्थापित पत्रकारको बेहाल बनाइएको छ । नेपालमा किन यस्तो भइरहेको छ ? यो एउटा अनुसन्धानको विषय भएको छ । नेपालमा सर्भाइभ गरिरहेको छ तर खतरा पनि छ । हामी सजक भएनौँ भने यो स्थिति समाप्त हुन सक्छ । आज हामी जुन स्वतन्त्रता उपभोग गरिरहेका छौँ, त्यसलाई जोगाउनु छ ।
जसले पनि ‘इमान्सिपेसन’ र ‘लिबर्टी’ चाहन्छ । त्यो र स्टेटको सम्बन्ध के हो ? राज्य भनेको लिबर्टीको विरोधी हो । राज्य भन्ने संस्था नै दमनको हो । एउटा ‘इमान्सिपेसन’ चाहने मान्छे र स्टेट — यी दुईवटालाई परिभाषित गर्ने लामो प्रयत्न भएको छ, चाहे त्यो बाकुनिन, मार्क्स, एङ्गेल्स, लेनिन सबैले गरेका छन् । त्यसैले अराजकतावाद कम्युनिस्ट आन्दोलभित्र जहिले रहन्छ । स्टेटसँगको सम्बन्ध के हो ? भारतमा समाजवादी आन्दोलनका क्रममा नेहरुले स्टेटलाई कब्जा गर्ने, लोहिया स–साना उद्योग मात्र चलाउने, जयप्रकाश नारायण जननीतिमा नजाने, राजनीतिमा नबस्ने, राजनीतिक चुनावै नलड्ने । यसरी त्यहाँ समाजवादी आन्दोलन टुक्रियो । यसै गरी कम्युनिस्टको ‘ओभरकास्टिङ’ हुँदै छ । मेरो भनाइमा यसको उत्तर छैन । लेनिनले जति विकास गरे, त्यसभन्दा अगाडि जान सकेन । नेपालका कम्युनिस्टहरूको संगठनात्मक सिद्धान्त के हो ? त्यसको जवाफ खै त ? लेनिनको सिद्धान्त पुरानो भयो, त्यस्तो त चल्न सक्दैन तर विकल्प के ? सर्वहाराको अधिनायकत्व लागू नगरीकन सर्वहारा वर्गको राजनीतिक सर्वोच्चता कायम गर्ने विधि के हो ? त्यो राजनीतिक सर्वोच्चता कसरी कायम गर्ने ?
यो विषय हामीले चीनमा पनि उठाएका छौँ, भारतमा पनि उठाएका छौँ । मार्क्सवादी प्रो–अभियान नेपालमा पनि सुरु गरेका थियौँ — घनश्याम, म र समीर सबै थियौँ । त्यसमा अध्यक्षको सम्पूर्ण रूपमा समर्थन थियो । त्यो कार्यक्रममा उहाँहरूकै विरुद्धमा पनि बोलिन्थ्यो । अब सत्तामा हुँदा झनै बोलिने भयो तर सबैभन्दा बढी समर्थन अध्यक्षले नै गर्नुभएको थियो । अब फेरि डरलाग्दो राष्ट्रिय र अन्तर्राष्ट्रिय पोलिटिक्स सुरु गर्नुपर्छ, त्यो नेपालले मात्र गर्न सक्छ । भारत, बंगलादेश, पाकिस्तानले सक्दैन । चीनले समर्थन गर्न सक्छ — आर्थिक रूपमा होइन, वैचारिक रूपमा । यस्तो अभियान देशभरि गर्न जरुरी छ ।
अहिले प्रतिक्रियावादीहरूले कहाँ भत्काउन सकिन्छ भनेर जाँच्दै छन् । धरान, मलंगा, नेपालगन्ज पुगेको छ, छाम्दै हिँडेको छ । यस्तो स्थितिमा नयाँ विचार, नयाँ उत्साह, नयाँ उभार र नयाँ जोस मार्क्सवादी कम्युनिस्टहरू र समाजवादीहरूले देखाउन सकेनन् भने नेपालमा जुनसुकै बेला प्रतिक्रान्ति हुने खतरा छ ।
त्यसैले बहस आज सुरुवात भयो । अध्यक्षले नै यसलाई सुरुवात गर्नुभयो । यस किताबलाई सबै कम्युनिस्ट पार्टीले पढ्नुपर्ने बनाइसक्नुभयो । माओवादीबाहेक बाहिरका साथीहरूसँग निरन्तर छलफल गर्दै जान्छौँ । हामीसँग धेरै कुराको उत्तर छैन । चीनलाई मैले प्रश्न सोधेको थिएँ — सर्वहाराको अधिनायकत्व स्थापित भएन भने के हुन्छ ? उनीहरू हामीलाई हेर भन्छन् । समाजवादी आन्दोलन पनि अध्ययन गर्नुप¥यो । अब हामीलाई नयाँ लेनिन चाहिएको छ, नयाँ लेनिन खालि आलोचना गरेर आउँदैन । अध्यक्षले नै भन्नुभएको छ, विकल्पमा मलाई हटाउनुस् । चुनौती दिनोस् भनिरहनुभएको छ । प्रतिस्थापन गर्नुपर्छ ।
प्रचण्डको नेतृत्वमा विद्रोह गर्दा हामी ३० का उमेरका थियौँ । त्यतिबेलाका वरिष्ठ नेताहरूलाई तपाईँले सक्नुभएन बाटो छाड्नोस् भन्दै आएको हो । अर्ली थर्टीमा म थिएँ । मिड थर्टीमा अध्यक्ष (प्रचण्ड) हुनुहुन्थ्यो । त्यतिबेला कम्मर कसेर पुष्पलाल, मनमोहन, मोहनविक्रम, शम्भुराम, तुलसीलाललाई औँला उठाएको हो, हामीले अमर्यादित कुरा गरेनौँ । माओवादीबाट धेरैजना धेरै कुरा गरेर अलग भए तर आज त्यही घरको वरिपरि देख्छु । यसले हाम्रो अध्यक्षको पनि अलि आत्मविश्वास बढेको छ । ती साथी सबैलाई म के भन्छु भने त्यति टाढा किन जानुपर्थ्यो ? त्यसरी किन जथाभाबी गरिराख्नुपर्थ्यो ? म पार्टीमै छु । अध्यक्षको छेउमै छु । मैले मर्यादित रूपले आलोचना गरेको छु । मार्क्सवादले आत्मालोचना बन भन्छ । मार्क्स आफैँ भन्छन्, म मार्क्सवादी होइन । त्यस्तो परम्परा कायम गर्न मैले लगातार रूपले प्रश्न उठाएको छु । अध्यक्ष साक्षी हुनुहुन्छ । प्रत्येक पटक उठाएको छु तर पार्टीको मर्यादाभित्र ।
अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा बम हान्यो । बम त्योभन्दा शक्तिशाली रसियाले पड्कायो तर चरा पनि मरेन । रसियन तरिकाको बम ब्लास्ट गरिराख्नुपर्छ पार्टीमा, तब मात्रै पार्टी जीवन्त हुन्छ । त्यो क्षमता माओवादी साथीहरूमा छ । मर्यादित तरिकाले दस्ताबेज लेख्दा हुन्छ । अब हुने कार्यक्रममा अध्यक्षको समर्थन आवश्यक छ । देशभर अभियान चलाऊँ । अलिअलि हाम्रो आलोचना होस् । हामीले चाहेकै त्यही हो । वैचारिक रूपमै लेनिन, मार्क्सवाद, माओवादको बुझाइ गलत छ भनेर युवाहरूले भने हामी त्यसमा खुसी हुन्छौँ । अध्यक्षको सन्देश पनि त्यही हो । राजनीतिमा विस्थापित गर्न तपाईँले आफ्नो सक्षमता साबित गर्नुपर्छ । लेनिन र मार्क्सको तस्बिर देखाएर ती को हुन् भन्दा हलिउडका हिरो होलान् भन्ने युवाले हामीलाई रिप्लेस गर्न सक्दैनन् । हाम्रो अध्यक्षलाई विस्थापित गर्ने त कुरै भएन ।
मार्क्सवादी विकल्पमाथि राम कार्कीको बहस : झलक सुवेदी
विकल्प समता, समाजवाद र मुक्त दुनिया शिर्षकमा माओवादी नेता राम कार्कीको नयाँ पुस्तक बहसको साँघुरो गल्लीमा आफ्ना लागि बाटो बनाउँदै प्रवेश गरेको छ। नेपालको राजनीतिमा विद्यमान बैचारिक बहसको खडेरीमा थोरै पानी पार्ने प्रयास यसले गरेको छ। र पुस्तकमा प्रस्तुत विचारमाथि थप बहस र छलफल तथा रहेका अपुरा अधुरा कुरा र कतिपय विचार अमान्य छन् भने तिनको भरताल पनि बहसबाटै होस् भन्ने अपेक्षा लेखकले राखेको पाइन्छ। दैनिक राजनीतिको बजारमा आफ्नै विचार, सिद्धान्त र नैतिकताको मोलमोलाइमा व्यस्त हुन थालेको चुनावका समयमा मजदुर किसानको कुरा गर्ने र चुनाव पछि संसद र सरकार मार्फत दलाल पुँजीवादको सेवामा (पेज २५१) लिप्त कम्युनिष्ट पार्टीको नेतृत्वमाथि प्रश्न उठाउँदै लेखकले आफ्ना रचना मार्फत नेपाली समाजमा मार्क्सवाद, समाजवाद र क्रान्तीकारी रुपान्तरणको सम्भावना छ भन्ने पुष्टि गर्न प्रयास गरेका छन्। याहाँ उनको पुस्तकको बूँदागतरुपमा परिचय र परिचर्चा गर्ने प्रयास गरिएको छ।
विकल्प समता, समाजवाद र मुक्त दुनिया पुस्तकका लेखक राम कार्की नेकपा माओवादी केन्द्रका नेता तथा मार्क्सवादी चिन्तक हुन्। नेकपा मसालमा सामेल भएर आफ्नो राजनीतिक जीवन सुरु गरेका कार्की माओवादी जनयुद्धमा सामेल भए र नेपाली समाज रुपान्तरणमा आफ्ना मान्यता अनुरुप सक्रिय रहे। पछि साँसद, संविधान सभा सदस्य र मन्त्रीका रुपमा समेत भूमिका खेलेका कार्की मुलतः सार्वजनिक वृत्तका बहस र छलफल मार्फत वचारिक कर्म गरिरहेका आफ्नो पुस्ताका सक्रिय चिन्तक हुन्। माओवादी वृत्तभित्र विचारधारात्मक बहसलाई आफ्नो पंक्ति भन्दा बाहिर पनि विस्तार गर्ने सिमित नेता मध्ये उनको नाम पनि आउँछ । उनी पाँच वर्ष पहिले मार्क्सको द्वीशतवार्षिक जन्मोत्सव मनाउन गठिन समितिमा घनश्याम भूषालसँग सहसंयोजक रहेर मार्क्सवादी वैचारिक बहसलाई अघि बढाउन सक्रिय थिए।
उनको यो पुस्तक मुलतः विभिन्न समयमा उनले लेखेका लेखहरु र दिएका प्रवचनहरुलाई परिमार्जन गरेर तयार पारिएको हो। लेखमा करीव १५ वर्ष यताको नेपाली राजनीति र त्यसमा कम्युनिष्ट पार्टी माओवादी र एमालेका विचारहरुमाथि वैचारिक विमर्श समेटिएको छ। बुकहिल प्रकाशनले बजारमा ल्याएको जम्मा २६३ पेजको पुस्तकमा भूमिका बाहेक ३३ वटा लेखहरु छन्। यसलाई उनले आफ्नो वैचारिक प्रस्तावना या दस्तावेजको मस्यौदा भनेका छन् र सार्वजनिक बहसका माध्यमबाट दस्तावेजलाई अन्तिम रुप दिन अपिल गरेका छन्।
एउटा विषयमा केन्द्रित भएर सिलसिलाबद्ध रुपमा नलेखिएको र लामो समयका रचनाहरु समेटिएकाले यसमा कतिपय कुराहरु दोहोरिएका छन्। उस्तै उस्तै विचारहरुको भिन्न समयमा गरिएको टिप्पणीका कारण भाषा र उदाहरण तथा सन्दर्भमा आउने भिन्नता सहितको पूर्ण पुस्तक भने यसलाई मान्न सकिन्छ। किनभने पुस्तक समग्रमा मार्क्सवादी विचारधारा र विश्व कम्युनिष्ट आन्दोलनका वैचारिक, सांगठनिक, साँस्कृतिक मूल्यहरु, पुँजीवादसँगको संघर्ष र त्यसक्रममा आन्दोलनहरुमा आएका उतारचढावको एउटा समरेखीय विश्लेषण पद्धतिमा आधारित छ। पुस्तक पढ्दा उनमा मार्क्सवाद, समाजवाद, पुँजीवादको विनाश र मुक्त मानव सम्भव छ भन्नेमा पूर्ण र अटल विश्वास पाइन्छ।
उनका रचनामाथि टिप्पणी गर्न किनपनि अप्ठेरो छ भने हरेक रचनाभित्र उनले मार्क्सवादी (कम्युनिष्ट) आन्दोलनभित्र उत्पन्न वैचारिक रिक्तता र त्यसको हल गर्न खोजिनुपर्ने विकल्पहरुको अलि अमूर्त जस्तो तर विस्तारीत चिन्ता गरेका छन्। अमूर्त यस मानेमा कि उनले प्रष्ट उत्तरहरु दिएका छैनन् थोरै सन्दर्भमा बाहेक। यसैकारण सार्वजनिक बहसका माध्यमबाट दस्तावेजलाई अन्तिम रुप दिन अपिल गरेका हुन गरेका सक्छन्।
पुस्तकमा उनले भनेका कुराको सार यसरी खिच्न सकिन्छः
उनका लेख रचनामा समकालीन नेपालले ब्यहोरेका समस्या र संकटहरुको सुक्ष्म विश्लेषण र त्यसबाट निकासको खोजीका लागि प्रश्नहरु र केही सिमित उत्तरहरु पाइन्छ।
माओवादी नेता तथा मार्क्सवादी चिन्तक कमरेड राम कार्कीको यो पुस्तक जनयुद्धको विश्राम पछि माओवादी आन्दोलन र नेपाली समाजको उत्पीडित तप्का तथा श्रमजीवि वर्गले गुमाएका अवसरहरुको निर्मम समीक्षा हो।
पुस्तकले थप उच्चस्तरको बहसको माग गर्छ। पुस्तकका लागि राम कार्कीलाई नेपाल रिडर्सको तर्फबाट बधाई तथा शुभकामना।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ