नेकपा एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि जनकपुरमा सुरु हुँदैछ। दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।
भोलिसम्म चल्ने अधिवेशनको आज उद्घाटन समारोह हुने छ। भोली नयाँ कार्यसमिति चयन गरेर अधिवेशन सम्पन्न गर्ने एमालेको तयारी छ। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।
मधेश प्रदेश अधिवेशनको लागि एमालेका एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका छन्। कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको आयोजकले जनाएको छ।
अधिवेशनले एमालेको दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ। एमालेको मधेश प्रदेशको नेतृत्वमा आउन पाँचजना नेताले रुचि देखाएका छन्।
एमाले मधेशको अध्यक्षमा सप्तरीका सुमन प्याकुरेल र बाराका पुरुषोत्तम पौडेलको नाम चर्चा छ। नयाँलाई नेतृत्व विकास गर्नुपर्छ भन्ने पक्षमा धनुषाका राजकिशोर यादव र सर्लाहीका रेवती पन्त छन्।
यादवले धनुषा जिल्ला कमिटीमा दुई पटकसम्म अध्यक्ष भएर काम गरिसकेका छन्। एमाले नेता विचारी यादवले पनि नेतृत्वमा दाबी गर्दै आएका छन्।