सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बो मौसमलाई अघि सार्ने निर्णय गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित बिहीबार बालुवाटरमा बसेको सत्तारुढ दलको बैठकले आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए।
सत्ता गठबन्धनका चारदलसँग कोशी प्रदेश सभामा ४७ सांसद छन्। संविधानको धारा १६८ को उपधारा ५ अनुसार भोलि शुक्रबार ५ बजेसम्म नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले समयसीमा दिएका छन्।
कोशीमा कांग्रेस दलका नेता उद्धव थापा दुईपटक मुख्यमन्त्री बनेपनि विश्वासको मत नपाएपछि सरकार ढलेको थियो। त्यही भएर यसपटक उपधारा ५ अनुसार माओवादी केन्द्रका आङ्बोलाई अघि सारेर सरकार गठन गर्ने गठबन्धनले निर्णय गरेको हो।
कोशी प्रदेशमा समर्थन दिनुपर्ने सर्तमा माओवादी केन्द्रले अन्तिममा संघीय संसद्को विकास समितिको नेतृत्व राप्रपालाई दिएको थियो । त्यसले पनि राप्रपाको माओवादीप्रति बढी झुकाव देखिएको कांग्रेस नेताहरूको बुझाइ छ । कोशी सरकारबारे निर्णय गर्न राप्रपाले भोलि पार्टीको औपचारिक बैठक नै बोलाएको छ ।
कोशी प्रदेशसभा ९३ सदस्यीय छ । बहुमतका लागि कम्तीमा ४७ जना प्रदेशसभा सदस्यको साथ चाहिन्छ । कोशीमा नेकपा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीको एक जना सांसद छन् ।
संघीय सरकार चलाइरहेको सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका गरी ४७ जना छन् । यहाँ सभामुख पद रिक्त छ । त्यसैले ६ सांसद भएको राप्रपासँग सत्ता गठबन्धनले साथ खोजेको छ ।