सोमवार, माघ ७, २०८१

सुस्ताएको सुन बजार दसैंको मुखमा ह्‍वात्तै चहलपहल, एक सातायता दैनिक २० किलो बिक्री


कान्तिपथ


काठमाडौं। दसैं नजिकिएसँगै सुन पसलमा ह्‍वात्तै चहलपहल बढेको छ। ग्राहकको भिडभाड बढेसँगै तीजमा फुर्सदिला भएका व्यापारीलाई राहत मिलेको छ। एक सातायता दैनिक २० किलो सुन बिक्री भइरहेको छ।

असोज पहिलो साता प्रतितोला १ लाख १३ हजारसम्म पुगेको सुनको मूल्य बिहिबार १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ। एक साताअघि प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँसम्म कारोबार भएको थियो। दसैं नजिकिएको र मूल्यमा गिरावटले गहनाको माग बढेको व्यापारीको बुझाइ छ।

सुनको भाउ घटेकाले पनि माग बढेको हो। एक सातादेखि ग्राहक बढेका छन्। तैपनि कम तौलका गरगहनाको माग धेरै छ। आर्थिक मन्दीले हुन सक्छ, ठूला आइटम त्यति बिक्री भइरहेको छैन।

सुनको अत्यधिक खपत बिहेको सिजनमा हुन्छ। व्यापारीका अनुसार दसैं तिहार पनि सुन खपत हुने समय हो। अहिले कोटाको दैनिक २० सुन नै बिक्री भइरहेको छ।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले एक सातादेखि सुनको माग बढिरहेको बताए। उनका अनुसार बैंकहरुले कोटा अनुसार नै सुन आयात गरिरहेका छन्। ‘एक सातायता कोटाको सबै सुन बिक्री भइरहेको छ’, उनले बिजमाण्डूसँग भने।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा नेपाल राष्ट्र बैंकले दैनिक आयात कोटा असोज १० गते १० किलोबाट २० किलो बनाएको थियो। ‘कोटा बढाइएको केही दिनसम्म अहिलेजस्तो बिक्री थिएन। बैंकले आयात गरे पनि गहनाको माग नरहेको भनेर व्यापारीले नकिन्दा स्टकमा थियो। तर एक सातायता सुन दिनदिनै २० किलो नै बिक्री भइरहेको छ’, शर्माले भने।

विदेशबाट वाणिज्य बैंकले राष्ट्र बैंकले तोकेको कोटा अनुसार सुन आयात गर्छ। त्यो सुन व्यापारी हुँदै ग्राहसम्म पुग्छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत