कोशी प्रदेशको मुख्यमन्त्रीमा दुईजनाले दाबी पेश गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङ्ग यतिखेर कानूनी परामर्शमा छन् । संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्रीको दाबी पेश गर्न उनले दिएको समय सीमा आज साँझ ५ बजेबाट सकिँदैछ ।
हिजै मुख्यमन्त्रीमा दाबी भइसकेको छ । कोशीमा नयाँ मुख्यमन्त्रीका लागि दुईजनाले दाबी गरेपछि परामर्शका लागि समय लाग्ने भन्दै उनले आजमात्र मुख्यमन्त्री नियुक्तिसम्बन्धी निर्णय गर्ने बताएका थिए ।
सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनले कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् ।
कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग समीकरण गरेको छ । नेपाली कांग्रेसका केदार कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरेका छन् । कार्कीले आफूसहित कांग्रेसका ९ प्रदेशसभा सदस्य र एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका हुन् ।