न्यूनतम लागत भन्दा बढीमा प्रस्ताव परेपछि एमसिसी प्रसारण लाइनको टेन्डर रद्द भएको छ। एमसिए नेपालले गरेको अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेन्डर परेपछि रद्द भएको हो।
एमसिसी परियोजना अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि तीन चरणमा विभाजन गरेर अघि बढाइएको ठेक्का प्रक्रियामा गत जेठ ८ गते टेन्डर खुला गरिएको थियो।
प्रसारण लाइन निर्माणको लागि एमसिए नेपालले २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो। तर, न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो।
यो परियोजना कार्यान्वयन गर्ने निकाय एमसिए नेपाललाई एमसीसी मुख्यालयले ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जान सुझाव दिएपछि यस्तो निर्णय लिइएको हो।
काउन्डाउन सुरु भएको उक्त परियोजनामा ढिलाइ गर्ने विकल्प उपलब्ध नभएका कारण केही दिनमै स्पेसिफिकेसन र स्काकेप अफ वर्क परिर्वतन गरेर बोलपत्र निकाल्ने एमसिएको तयारी छ।
एमसिएले २२ करोड डलरमा चार सय केभी क्षमताको ३ सय १५ किलोमिटर विद्युत प्रसारणलाइन बनाउन गत वर्षको मंसिर १२ गते बोलपत्र आह्वानसम्बन्धी पहिलो सूचना जारी गरेको थियो।