कोशी प्रदेशमा नयाँ सरकार गठनको विषयले राष्ट्रिय राजनीति नै तरंगित भएको छ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले नेकपा एमालेसँग मिलेर मुख्यमन्त्रीको दाबी गरेसँगै राजनीति तरंगित भएको हो ।
यहाँ गठबन्धनतर्फबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र एमाले–शेखर पक्षबाट केदार कार्कीले मुख्यमन्त्रीको दाबी गरेका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री दाबी गर्नका लागि दिएको समय अहिले पाँच बजेसँगै सकिएको छ । खापुङका अनुसार अब मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।
तर, कसलाई मुख्यमन्त्री नियुक्त गर्ने भन्ने अन्योल कायम छ । यहाँ दुवै पक्षले ४७–४७ जना सांसदको समर्थन रहेको हस्ताक्षर बुझाएका छन् ।
शेखर पक्षका ८ सांसदले भने आफ्नो हस्ताक्षर दुरुपयोग भएको बनाइरहेका छन् । उनीहरु अहिले सशरीर प्रदेश प्रमुखमा उपस्थित छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोसी प्रदेशमा माओवादी व्याक हट्ने बताएका छन् । त्यसका लागि उनले सर्त राखेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मा, डा. मीनेन्द्र रिजालसहित बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग बसेको बैठकमा प्रचण्डले सो लचकता देखाएका हुन् । तर, प्रधानमन्त्री प्रचण्डले शेखर कोइरालालाई मनाएर आउने सर्त राखेको बैठकमा सहभागी एक नेताले बताए ।
“प्रचण्डले आफू पछि हट्ने तर कांग्रेसले सर्वसम्मत नाम दिनुपर्ने धारणा राख्नुभयो । उहाँले शेखर कोइरालालाई मनाएर आउन भन्नुभएको छ,” एक नेताले भने, “तर, यो लिखित सहमति बनिसकेको छैन ।