पोखरा । गण्डकी प्रदेशको राजधानी पोखराबाट १ अर्ब ४ करोडको नयाँ नोट सटही गरिएको छ । नेपालीहरूको महान् पर्व दशैं पर्वको अवसरमा नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयले यस बर्ष १ अर्ब ४ करोड ५० लाख रुपैयाँ नयाँ नोट सटही गरेको कार्यालयले जनाएको छ ।
आम सर्वसाधारणको लागि सोमबार देखि सुरु गरेको नयाँ नोटको सटही शुक्रवारसम्म २१ करोड २५ लाख नयाँ नोट सटही गरिएको कार्यालयका उपनिर्देशक पुष्कर शुर्खालीले बताउनु भयो । कार्यालयले यस बर्ष बैङ्क तथा वित्तीय संघ संस्थाहरूको लागि भने ८३ करोड २५ लाखको नयाँ नोट सटही गरेको उहाँले जनाउनु भयो । बिहीबार ४ करोड ६ लाख नयाँ नोट सटही गरेको कार्यालयले शुक्रबार भने १ करोड ९५ लाख नयाँ नोट सटही गरेको हो ।
नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार पोखराको कार्यालयबाट प्रति व्यक्ति १८ हजार ५ सयको नयाँ नोट सटही गरेको नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयका निर्देशक आर्या जोशीले बताउनु भयो । आम सर्वसाधारणको लागि भने गत वर्ष झैँ यस बर्ष पनि सानो नोट (५, १०, २०, ५० र १००) का एक/एक बण्डल सटहीको व्यवस्था गरिएको उहाँले जनाउनु भयो । नयाँ नोटको जतन गरी हिफाजत गर्न उहाँले आग्रह गर्नु भएको छ ।
नेपालीहरूको महान् पर्व विजया दशमी पर्वको अवसरमा यस बर्ष १ अर्ब २३ करोड ४५ लाख नयाँ नोट सटही गर्ने योजना रहेको राष्ट्र बैङ्क पोखरा कार्यालयका उप-निर्देशक सम्झना ढकालले बताउनु भयो । नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयले गत बर्ष १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ बैङ्क तथा वित्तीय संघ संस्था सहित आम सर्वसाधारणलाई नयाँ नोट सटही गरेको थियो । यस बर्ष आफूहरूसँग नयाँ नोटको धेरै स्टक नभएकोले माग अनुसार दिन नसके पनि सन्तुलित ढंगले वितरण गरेको उप-निर्देशक ढकालले बताउनु भयो । यस बर्ष सायद आर्थिक मन्दीले गर्दा ५ रुपैयाँको नोटको माग अत्यधिक भएको राष्ट्र बैंकले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ