मङ्लबार, माघ ८, २०८१
  • गृहपृष्‍ठ
  • प्रशासन
  • ‘गुटेरेसको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्छ’

‘गुटेरेसको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्छ’


कान्तिपथ


काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेता, उपप्रधान एवं रक्षा मन्त्री र परराष्ट्रमन्त्रीसँग आज छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग महासचिव गुटेरेसले शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

भेटवार्ताका क्रममा दुई पक्षीय हित एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा विश्वासका साथ छलफल भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

जलवायु परिवर्तनका विषयमा गम्भीर रुपमा चर्चा भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनले नेपालमा पारेको नकारात्मक प्रभावलाई कम गर्न अन्तर्राष्ट्रिय समुदाय र मुख्यरुपमा राष्ट्र संघका महासचिवले खेलेको भूमिकाको उच्च प्रशंसा गरिएको र आगामी दिनमा सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको भ्रमणले राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्धलाई सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

यसै गरी महासचिव गुटेरेसले शान्ति स्थापनामा नेपाली शान्ति सेनाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा आवश्यक सहयोग गर्न राष्ट्रसङ्घ तयार रहेको बतउनुभयो ।

उहाँले कोभिड पछिको आर्थिक मन्दी र जलवायु परिवर्तनका कारण सिर्जित समस्या समाधानका लागि नेपालजस्ता मुलुकका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

महासचिव गुटेरेसले इजरायल र गाँजाबिच युद्धविराम गर्न र मानवीय सहायताका लागि अनुरोध समेत गर्नुभयो ।

महासचिव गुटेरेसले उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का र परराष्ट्र मन्त्री एनपी साउदसँग पनि आजै छुट्टा छुट्टै भेटवार्ता गर्नुभयो ।

भेटवार्तापछि महासचिव गुटेरेसले ऐतिहासिक एवं पुरातात्त्विक महत्वको सम्पदा स्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुहुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महासचिव गुटेरेसको सम्मानमा आज साँझ सांस्कृतिक कार्यक्रम सहितको रात्रि भोजको आयोजना गर्नुहुनेछ ।

भ्रमणका क्रममा महासचिव गुटेरेस भोली नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ ।

पर्सी मङ्गलबार अपराह्न ४ बजे महासचिव गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लाग्नुभएका गुटेरेसले नेपालको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तन लगायत विषयमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ ।

महासचिव गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नुभएको हो ।

महासचिव गुटेरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुभयो ।

त्यस अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधि लगायत उपस्थित हुनुहुन्थ्यो ।

महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत