सिरहा- पछिल्लो समय सिरहा तस्करीको अखड़ा बन्दै गएको छ । सिरहाको विभिन्न नाकाहरु मध्ये ठाडी भन्सार तर्फबाट व्यापक रुपमा तस्करी हुन थालेपछि स्थानीयहरु विरोधमा उत्रिएका छन् ।
भन्सार छलीका समान लिएर अवैध रुपमा नेपाल भित्रिदै गरेको ज १ च १९३० नम्बरको पिकअप गाडीलाई धनगढीमाई नगरपालिका-१० का स्थानीयले नियन्त्रणमा लिएका छन् ।
आफूहरुले प्रमाणसहित सिरहा प्रहरीलाई पटक पटक तस्करीबारे सूचना दिएपनि सो सूचनालाई वेवास्ता गरेपछि आफूहरु बाध्य भएर तस्करीका मालसमान बोकेका पिकअप गाड़ीलाई नियन्त्रण लिनुपरेको स्थानीयको भनाइ छ ।
यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डीएसपी) रबिन्द्र राज पाण्डेका अनुसार सिरहाको धनगढीमाई नगरपलिका-१० स्थितबाट ईलाका प्रहरी कार्यालय धनगढ़ीले गत आइतवार १५ लाख बढ़ी मूल्य बराबरका अवैध रुपमा भित्र्याइएका लत्ताकपड़ा सहितको पिकअप गाडी र सोही पालिकाको वडा नम्बर -९ स्थित चैनपुर घर भएका उतिमलाल राउत समेतलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभएको छ ।
तस्करीको अखड़ा बन्दै सिरहा
राजस्व अनुसन्धान कार्यालय ईटहरीका प्रमुख सुरेश आचार्यका अनुसार चोरी तस्करी नियन्त्रण साता अन्तर्गत सिरहामा मात्र गत असोज महिनाको एक साताभित्र करिब ३ करोड़ रुपैयाँ बढ़ी मूल्य बराबरको चोरी तस्करीका अवैध समानहरु नियन्त्रणमा लिइएको छ ।
राजस्व अनुसन्धान कार्यालयका टोलीले असोज १३ गते पचास लाख मूल्य बराबरको अवैध कपड़ा सिरहा नगरपालिका–१५ को सीमावर्ती सुखचैना गाउँस्थित चन्द्रनारायण यादव आधारभूत विद्यालय परिसर भित्र पिकअपमा लोड गर्दै गरेको अवस्थामा र बगैँचामा लुकाएर राखेको लत्ताकपडा बरामद गरेको प्रमुख आचार्यले जानकारी दिनुभयो ।
त्यसको भोलिपल्टै असोज १४ गते राजस्व अनुसन्धान कार्यालय इटहरीकै टोलीले लत्ताकपडासहितको ट्रक नियन्त्रणमा लिएको थियो । गत आइतवार दिउँसो सल्हेश मार्ग हुँदै चोहर्वातर्फ जाँदै गरेको भन्सार छलीका अवैध कपड़ासहितको ट्रक नियन्त्रणमा लिएको थियो ।
राजस्वको टोलीले तेश्रो दिनसमेत छापा मारेर अवैध कपडा बरामद गरेको थियो । असोज १५ गते सोमबार सिरहा नगरपालिका–१५ सुखचैना स्थितप्रहरी चौकी खिरौनाबाट करीब दुई सय मिटरको दुरीबाट अवैध कपडा बरामद गर्यो । भन्सार छलेर भारतबाट ल्याएको करिब ३२ लाख मूल्य बराबरको १६ गाँठ लत्ताकपडा बरामद गरिएको थियो ।
लगत्तै असोज १६ गते मंगलबार विहान पनि राजश्व अनुसन्धान कार्यालय इटहरी र सशस्त्र प्रहरी बल सिरहाले संयुक्त रुपमा सिरहा नगरपालिका–१८ तारापट्टी टोलबाट लुकाई राखेको करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ७८ पोका लत्ताकपडा बरामद गर्यो ।
सिरहाको मुख्य ब्यापारिक केन्द्र मिर्चैयाको एक कपडा पसल तथा गोदाममा राजश्व अनुसन्धान कार्यालयले छापा मार्दा त्यहाँबाट समेत अवैध लत्ताकपडा बरामद भएको थियो ।
यसरी राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिरहाबाट मात्रै करिव ३ करोड बढीको भन्सार छलेर ल्याएको लत्ताकपडा एक साताभित्र बरामद गरेको राजश्व अनुसन्धान कार्यालय ईटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिनुभयो । सिरहा तस्करीको अखड़ा बन्दै गएको प्रति भने स्थनीयहरु चिन्तित छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ