शनिबार, माघ ५, २०८१

थाइल्यान्ड र हमासबीच इरानमा बन्धकबारे प्रत्यक्ष वार्ता


कान्तिपथ


बैङ्कक, कात्तिक १६ गते । थाई अधिकारीहरूले प्यालेस्टिनी आतङ्कवादी समूहद्वारा इजरायल हमलामा बन्धक बनाइएका २२ थाईको अवस्थाका बारेमा गत साता इरानमा हमाससँग प्रत्यक्ष वार्ता गरेको थाई प्रतिनिधिमण्डलका प्रमुखले बताउनुभएको छ ।
वार्ताकारहरूले गत बिहीबार तेहरानमा हमासका अधिकारीहरूसँग भेटेका थिए । भेटमा हमासले थाई बन्धकलाई ‘उचित समय’ मा रिहा गरिने बचन दिएको अरिपेन उत्तरासिनले बुधबार बैङ्ककमा पत्रकारहरूसँग भन्नुभयो ।

इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा गाजापट्टीबाट हमासले सुरु गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय मानिसको ज्यान गएको थियो । हमासले दुई सय ३० भन्दा बढीलाई बन्धक बनाएको थियो । जवाफमा इजरायली सेनाले गाजामाथि हमला गर्दा आठ हजार सात सयभन्दा धेरै गाजाबासी मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थाई संसद्का अध्यक्षद्वारा नियुक्त तीन सदस्यीय वार्ता टोलीको नेतृत्व गर्ने अरिपेनले इरानमा हमासका अधिकारीहरूसँग दुई घन्टा बैठक बसेको जानकारी दिनुभयो । “उनीहरू निर्दोष रहेको भन्दै मैले थाई बन्धकको रिहाइका लागि कुरा गरेँ”, उहाँले भन्नुभयो, “उनीहरूले थाई बन्धकको राम्रो हेरचाह गरिएको मलाई आश्वासन दिएका छन् तर उनीहरूको रिहाइको मिति बताउन सकेनन्, उनीहरू उचित समयको प्रतीक्षा गरिरहेका थिए ।”

“उनीहरूले हाम्रो चिन्तालाई स्वीकार गरेका छन्, थाइल्यान्डले मुस्लिम समुदायलाई दया र लाभ देखाएको छ भन्ने उनीहरूलाई थाहा छ, उनीहरू थाइल्यान्डलाई सम्मान गर्छन्”, अरिपेनले भन्नुभयो ।

प्रधानमन्त्री श्रेथा थाभिसिनले थाई बन्धकहरूलाई स्वदेश फर्काउन कडा मेहनत गरिरहेको बताउनुभएको छ । साथै विदेशमन्त्रीले यसै साता कतार र इजिप्टसँग कुराकानी गर्नुभएको छ ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले खाडी क्षेत्रको स्थितिको ‘जटिलता’ भए पनि बन्धकहरूलाई मुक्त गराउने प्रयासलाई अगाडि बढाइरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री थाभिसिनले बुधबार राति इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग टेलिफोन कुराकानी गर्नुभएको थियो । “उहाँले मलाई थाई बन्धकहरूको तुरुन्त सहयोगका लागि सक्दो प्रयास गरिने बताउनुभएको छ”, प्रधानमन्त्री थाभिसिनले भन्नुभयो । पछि नेतान्याहुको कार्यालयले इजरायलका सबै बन्धकलाई मुक्त गराउन सक्दो प्रयास गरिरहेको प्रधानमन्त्री थाभिसिनलाई आश्वासन दिएको बताएको थियो ।

द्वन्द्व सुरु हुँदा इजरायलमा करिब ३० हजार थाईले काम गरिरहेका थिए । तीमध्ये अधिकांश कृषि क्षेत्रमा संलग्न थिए । मन्त्रालयका अनुसार द्वन्द्वमा कम्तीमा ३२ थाईको मृत्यु र १९ जना घाइते भएका थिए । थाइल्यान्डले इजरायलमा रहेका सात हजार नागरिकलाई विमानमार्फत स्वदेश फर्काएको छ । रासस/एएफपी



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत